राजन रावत
हुम्ला, फागुन १३ गते । यस वर्ष पनि सिमकोट गाउँपालिका १, २, ५ र ६ को सिमकोट र ठेहे गाउँमा महिलाले चैतलो पर्व मनाएका छन् । यी गाउँका महिलाले पँहेलो वस्त्रधारण गरेर गाउँको सामूहिक सभास्थलमा चौपाडीमा सामूहिक गीत गाएर नाचेका हुन् ।
स्थानीयको मान्यता अनुसार यो पर्व वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि मान्ने गरिन्छ । गाउँका टोलटोलबाट पँहेलो वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामुहिक रूपमा गीत गाउँदै नाच्ने पर्व नै चैतलो हो ।
गाउँको सबैलाई पायक पर्ने ठाउँमा चौपाडीमा जम्मा भएर जेष्ठताका आधारमा लामबद्ध भएर मस्टो, नवदुर्गा भवानीको गाथा गाउनुका साथै ऋतुहरूको बारेमा गुणगान गाएर चैतलो पर्वमा नाचिने सिमकोट गाउँपालिका–५ का तिर्थराज रोकायाले बताउनुभयो ।
सुरुमा देवदेवी र पञ्चभूतत्वलाई खुसी पार्न मागल, चुड्किला, चाचडी, आरतीजस्ता लोक गाथा गाउने गरिन्छ । मनोरन्जनका लागि चुड्किला र देउडा गाउने गरिन्छ । सिमकोटको तल्लो गाउँ खाद्यकको बिचमा रहेको चौपाडीमा यहाँको मस्टो देवताले ठुलो सहकालका लागि दीक्षादाना राखेर चैतलो खेल्ने चैतालुहरूलाई टीका लगाएपछि मात्र खेल आधिकारिक रूपमा सुरु भएको हुने उहाँले बताउनुभयो ।
यस पर्वलाई तीन गाउँका महिलाहरूले तीजभन्दा पनि ठूलो पर्वमा रूपमा मान्छन् । आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ऋतुको सुरुवाती ऋतु वसन्तको आगमनलाई स्वागत गरेर वर्षभरि नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रूपमा चैतलोलाई मानिँदै आएको छ । गीत गाउने महिलालाई आफन्त र नजिकका छिमेकीले घरमा बोलाएर मासु लगायतका मिठा परिकार तयार पारेर खुवाउने पनि गरिन्छ ।
महिलाहरू विशेष पहिरन र आभुषण लगाएर खेल्न पाउने महिला पर्व हो । यो पर्वमा चैतलो खेल्ने जाने चैतलै रानीहरूले अनिवार्य रूपमा रेशमी कपडाको पहेलो वस्त्रको लामो लुगा ओड्नु पर्ने परम्परा नौलो र मौलिक रहेको छ । चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खस क्षेत्री समुदायले मान्ने पर्व हो ।
यस्ता चाडपर्वले समाजलाई मौलिकता दिने कार्य गरेका छन् । उहाँले प्रचारप्रसार गर्न गराउन सकेमा सांस्कृतिक पर्यटनका लागि पनि फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यो पर्वमा देवदेवीको गुणगान गाउने गरिन्छ । यो अवसरमा पाहुना तथा अतिथिलाई पनि सम्मानका साथ खानपान गर्ने गराउने चलन रहेको छ । दुई समुह बनाएर ठेहे गाउँको भुओखाडो र सिमकोटको चौपाडीमा सामुहिक महिला जम्मा देवीदेवताका साथै सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पौराणिक सन्दर्भ उल्लेख गरिएका मांगल, फाग, चार्ची, चुडकिलाका साथै देउडागीत समेत गाउँले र खेल्ने गरिन्छ । युवायुवतीले रातभर देउडा गाउने समेत गर्छन् ।