• १२ फागुन २०८१, सोमबार

विद्यालय शिक्षा विधेयक पारित भए धरै शैक्षिक समस्या समाधान हुनेछन् : राष्ट्रियसभा अध्यक्ष

blog

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर :सङ्घीय संसद

सिन्धुपाल्चोक, फागुन १२ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भए शिक्षासम्बन्धी धेरै समस्या समाधान हुने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न सके शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताउनुभएको हो ।

पञ्चायतकालीन शिक्षा ऐनबाट निर्देशित हुनुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रमा रहेका अनगिन्ती समस्याको समाधानका लागि विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा छलफलको क्रममा रहेको चर्चा गर्नुहुँदै अध्यक्ष दाहालले भन्नुभयो, “यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।”

मौलिक हकको कार्यान्वयनका लागि बनाउनुपर्ने थुप्रै कानुनहरू समयमै बन्न नसक्दा जनतामा निराशा बढेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि कयौं व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैँलाई अनुभूति भएको छ ।”

उहाँले जारी हिउँदे अधिवेशनबाट निजामती विधेयक, प्रहरी समायोजन विधेयक, भ्रष्टाचारसँग सम्बन्धी विधेयक लगायतका अति आवश्यक विधेयकहरू पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय सरकारले व्यावसायिक र सीपमूलक शिक्षाको विकास गर्न नीति नै अवलम्बन गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले प्राविधिक शिक्षाले गाउँमै रोजगार सिर्जना गर्न सक्ने वातावरण तयार गर्ने बताउनुभयो । सूचना प्रविधिको विकासले विश्व नै एउटा गाउँजस्तै बनाइदिएको भन्दै उहाँले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल शिक्षाको विकासका लागि पहल गर्न जरूरी रहेको बताउनुभयो ।

संविधानमै विद्यालय शिक्षाको मुख्य जिम्मेवारी तीन तहका सरकारमध्ये स्थानीय तहलाई रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले विद्यालयका शैक्षिक कार्यक्रम, शिक्षण तथा विद्यार्थीको पढाइको गुणस्तरियता जस्ता विषयमा जनप्रतिनिधि र अभिभावकको प्रत्यक्ष निगरानी र सकारात्मक हस्तक्षेप जरूरी रहेको बताउनुभयो ।