• ११ फागुन २०८१, आइतबार

आफ्नै स्रोतले देश बनाऔँ : उद्योगमन्त्री भण्डारी

blog

उद्योग बाणिज्य तथा अपूर्तिमन्त्री दामोदर भण्डारी कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन ११ गते । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नै पौरख र स्रोत साधनले देश बनाउनुपर्ने बताउनुभएको छ ।

ओखलढुङ्गाको लिखु गाउँपालिका –३ नर्मदेश्वरमा नर्मदेश्वर महोत्सवको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । अमेरिकाले एमसीसीलगायतका योजना स्थगित गर्दै उल्टै नेपाललाई दोषारोपण गरेको भन्दै मन्त्री भण्डारीले अब विदेशी सहयोगमा नभई स्वदेशमै रहेका उद्योग, कलकारखाना, स्रोत र साधनको उच्चतम प्रयोगबाट देश बनाउनुपर्ने बताउनुभयो ।

स्वदेशको स्रोत–साधनको उच्चतम प्रयोग गर्नेगरी नीति, कार्यक्रम र बजेट ल्याउने योजना रहेको मन्त्री भण्डारीको भनाइ छ । मन्त्री भण्डारीले ओखलढुङ्गा आफैमा एक ब्रान्ड भएकाले नर्मदेश्वर महोत्सवले धार्मिक र पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । \


नर्मदेश्वर मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन संस्था र वडा कार्यालयको आयोजना तथा स्थानीय संघ संस्थाको सहआयोजनामा भएको महोत्सवमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता लगायत विविध साँस्कृतिक कार्यक्रम हुनेछन् । लिखु गाउँपालिका –३ नर्मदेश्वरमा रहेको नर्मदेश्वर महादेवको मन्दिर करिब तीनसय वर्ष पुरानो रहेको बताइएको छ । 

महोत्सव उद्घाटन समारोहमा संविधान सभा सदस्य यज्ञराज सुनुवार, गाउँपालिका अध्यक्ष अशोक कार्की, उपाध्यक्ष अस्मिता थापा, कोशी प्रदेशका पूर्व सांसद मोहन खड्का लगायतका अतिथीको उपस्थिति थियो ।