जनार्जन खत्री
सर्लाही, फागुन ११ गते। सर्लाहीमा जङ्गली हात्तीको समूहले घर तथा बालीनालीमा क्षति पुर्याउने क्रम रोकिएको छैन।
चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती पश्चिमी भेगतर्फ लागेका छन्। हात्तीको समूहले आइतबार बिहान र शनिबार राति हरिवन तथा बागमती नगरपालिकाको विभिन्न भागमा घरका बेराघेरा भत्काउने र बालीनालीमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
हात्तीले आइतबार बिहानपख बागमती नगरपालिका–३, धरहरामा बाबुलाल स्याङतानको घरमा बाँसको टाटीले लगाएको बेरा भत्काएर भित्र राखिएको दुई क्विन्टल धान खाइदिएको छ। हात्तीले स्याङतानको एक कट्ठाको मकै, दुई वटा केराको बोट, रामबहादुर थिङ, धनबहादुर दोङ र लक्ष्मण योन्जनको एक/एक कट्ठामा लगाएको मकै खेती नष्ट गरेको पीडितले बताएका छन्।
सोही हात्तीको समूहले शनिबार राति हरिवन नगरपालिका–६, चार्ली टोलका डिल्लीप्रसाद उप्रेतीको तीन कट्ठाको मकै र १५ वटा केराको बोट, लक्ष्मीप्रसाद भुर्तेलको तीन कट्ठाको मकैबाली र २० वटा केराको बोट र मीनप्रसाद उप्रेतीको पाँच कट्ठाको मकैबाली र १० वटा केराको बोट नष्ट गरेको छ। यसअघि रातको समयमा मात्रै जङ्गली हात्ती देखा पर्ने गरेकोमा आइतबार भने दिउँसै हात्तीको समूह बस्ती छेउछाउ देखा परेका छन्।
हरिवन र बागमती नगरपालिकाको जङ्गल नजिकै रहेका बस्तीमा आइतबार दिउँसै तीन वटा माउ जङ्गली हात्ती डुलिरहेकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो।
जङ्गली हात्तीको यही समूहले बुधबार र बिहीबार राति लालबन्दी नगरपालिका–१७, रानीगन्जका शिवहरि गौतमले यसै वर्षबाट सुरु गरेको व्यावसायिक केरा खेतीमा व्यापक क्षति पुर्याएको थियो।
गौतमले २५० बढी केराको बोट हात्तीले नष्ट गरेको गुनासो पोख्नुभएको छ। हात्तीले त्यसअघि मङ्गलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा स्थानीय धनमाया तामाङको भान्सा घर भत्काएर घरभित्र रहेको अनाज खाइदिएको थियो।
जिल्लामा एक सातादेखि यसरी निरन्तर जङ्गली हात्तीले आतङ्क मच्चाइरहँदा स्थानीय त्रसित भएका छन्। डिभिजन वन कार्यालय सर्लाहीले जङ्गली हात्ती आफै पर्सा वनजन्य आरक्षण केन्द्रमा फर्किएर जाने भएकाले जथाभावी नजिस्काउन र जङ्गल नजिकका बस्तीमा बसोवास गर्ने स्थानीयलाई चनाखो रहन अनुरोध गर्दै आइरहेको छ।
सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले हात्तीले घर तथा अन्नबालीमा क्षति पुर्याए डिभिजन वन कार्यालयमा प्रक्रिया पुर्याएर निवेदन दिँदा क्षतिपूर्ति प्रदान गरिने बताउनुभएको छ।