• ९ मंसिर २०८१, आइतबार

चितवन जोड्न तीन द्रुतमार्ग

blog

काठमाडौँ, जेठ १६ गते । सरकारले चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्न तीनवटा द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्का दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत बजेटमा उक्त घोषणा गर्नुभएको हो । 

अर्थमन्त्री शर्माले चितवनसम्मको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग  निर्माण गर्ने, त्यसैगरी, चितवन–रामपुर चितवन, चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड मार्फत प्रक्रिया अगाडि बढाइने बताउनुभयो । त्यसैगरी, सिरहाको मिर्चैया–लुक्ला–सगरमाथा द्रुतमार्ग  समेत निजी क्षेत्रको लगानीमा निर्माण गर्ने प्रबन्ध मिलाइने बजेटमा उल्लेख छ ।

त्यसैगरी, आगामी आर्थिक वर्षभित्रमा सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको सुरुङ खन्ने काम सम्पन्न गरिने, सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने व्यवस्था बजेटमा उल्लेख छ ।

त्यसैगरी, टोखा–छहरे, चार भज्याङ, साँगा–बनेपाको सुरुङमार्ग निर्माणका लागि एक अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ । ग्वार्को, सातदोवाटो एकान्तकुना फ्लाई ओभर र वानेश्वरमा अन्डरपास पनि निर्माण गरिने छ ।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न आगामी आर्थिक वर्षमा ३० अर्ब ५० करोड, हुलाकी राजमार्गलाई छ अर्ब, मदन भण्डारी राजमार्गलाई दुई अर्ब ९१ करोड, कर्णाली, कालीगण्डकी र कोसी करिडोरको लागि चार अर्ब, गल्छीदेखि रसुवागढीसम्मको सडक कालोपत्रे र स्तरोन्नतिको लागि एक अर्ब ८५ करोड रुपियाँ विनियोजन गरिएको छ ।

रेल र मेट्रोरेल निर्माणका लागि छ अर्ब ५३ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री शर्माले पूर्वपश्चिम रेलमार्ग, बर्दिबास निजगढ खण्डका लागि तीव्रता बताउनुभयो । वीरगञ्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको अध्ययन प्रतिवेदन तयार गरिने बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी, जयनगर–जनकपुर कर्ता यातायात सेवा विस्तार गरी विजुलपुरासम्म रेल यातायात सञ्चालन गर्नुका साथै विर्तामोड–जलेश्वर–जनकपुरमा रेल सम्भाव्यता अध्ययन गरिने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ ।