• ११ फागुन २०८१, आइतबार

साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति लोकार्पण

blog

काठमाडौं, फागुन १० गते ।  साहित्यकार मोती शोभा श्रेष्ठद्वारा लिखित चारवटा कृति लोकार्पण गरिएको छ । ती कृतिमा नेपाली भाषामा ‘अल्झिएका धागाहरु’ कथा संग्रह, ‘फूलबारी’ लघुउपन्यास, नेपाल भाषामा ‘घुटु चियाया’ कथा संग्रह तथा अंग्रेजी भाषामा ‘नेचर’ को लघु उपन्यास लोकार्पण गरिएको हो ।

कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार शंकर प्रसाद कोइराला, वरिष्ठ साहित्यकार तथा जनमत प्रकाशनका अध्यक्ष मोहन दुवाल, कथाकार भागीरथी श्रेष्ठ लोचन तारा तुलाधर, साहित्यकारहरु शैलेन्द्र साकार, लक्ष्मी माली, जलेश्वरी श्रेष्ठ शाक्य सुरेन रमेश तुफान, ज्ञानेन्द्र विवशलगायत अन्य साहित्यकार र साहित्य प्रेमीहरुको उपस्थिति थियो।

कार्यक्रममा साहित्यकारहरु शंकर कोइराला, मोहन दुवाल, लोचन तारा तुलाधर ले लोकार्पण गरिएका पुस्तकहरुबारे आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यस्तै अन्य साहित्यकार तथा कविहरुबाट मन्तव्य एवम् कविता वाचनसमेत गरिएको थियो।

साहित्यकार मोती शोभा श्रेष्ठको कृति ‘अल्झिएका धागाहरु’ मा ५० वटा कथाहरु समावेश छन् जस्मा विविद विषयवस्तु, परिवेश, जीवनका फरक फरक अनुभूतिहरु र मनिसका जीवन जीउने बेग्ला बेग्लै सोच र तरिकाका बारेमा सरल भाषामा रोचकरुपमा प्रस्तुत गरिएका छन्। यस संग्रहमा मानव जीवनमा दैनिक देखिने र भोगिने घटना र सन्दर्भहरुलाई विषय बनाएर लेखिकेका सन्देशमूलक कथाहरु भेटिन्छन । पुस्तकमा साहित्यकारद्वय शंकरप्रसाद कोइरला र मोहन दुवालले शुभकामना मन्तव्य लेख्नुभएको छ।

दोस्रो कृति ‘रंगीचंगी फूलहरुले सजिएको फूलबारी’ लघुउपन्यासमा पारिवारिक सद्भाव, समन्वय, आपसी मेलमिलाप र सकारात्मक सोचलाई मुख्य विषय बनाइएको छ। यस पुस्तकमा साहित्यकार ध्रुव मधिकर्मी तथा शंकर कोइरलाले आफ्नो मन्तव्य लेख्नुभएको छ ।

तेस्रो  कृति नेपाल भाषामा प्रकाशित ‘घुटु चियाया’ कथा संग्रहमा ६० वटा कथाहरु समेटिएका छन् । यस पुस्तकमा समसामाहिक विषयवस्तु मानव समवेदना प्रकृति कला र संस्कृतिका विविद पक्षहरुको चित्रण गरिएका छन् । पुस्तकमा साहित्यकार यज्ञ रत्न धक्वा तथा लोचन तारा तुलाधरले मन्तव्य लेख्नु भएको छ।

पाँथो कृति अंग्रेजी भाषामा प्रकाशित ‘नेचर’ शीर्षकको लघु उपन्यासमा प्रकृति प्रेमलगायत नेवारी समुदायका संस्कृति र रीतिरिवाजका बारेमा लेखिएका छन। यो कृति लेखिका मोती शोभाको २०७८ मा प्रकाशित ‘प्रकृति’ शीर्षकको लघु उपन्यासको अंग्रेजी रुपान्तरण हो र यसमा पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दले शुभकामना मन्तव्य लेख्नु भएको छ ।

लेखिका मोती शोभा श्रेष्ठको जन्म काठमाडौँ को मरु टोलमा भएको हो र अर्थशास्त्रमा स्नातकोत्तर गरी सरकारी सेवा मा लामो समयसम्म कार्यरत रही नेपाल सरकारको सहसचिव पदबाट उहाँले अवकाश प्राप्त गर्नुभएको थियो। मोती शोभा श्रेष्ठ नेपाली साहित्यमा नयाँ नाम भए पनि उहाँका यसअघि २०४८ सालमा चारवटा लघु उपन्यास ‘प्रकृति’ सत्य र आमू सम्झनाको डायरी र आँसु तथा २०८० सालमा चियाको चुस्की कथा संग्रह प्रकाशित भइसकेका छन्।