• ११ फागुन २०८१, आइतबार

नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री गगन थापा

blog

कार्यक्रममा सहभागी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा। तस्बिर : प्रतीक इच्छुक शर्मा

सल्यान, फागुन १० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको अधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको छ।  सल्यानमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउने क्रममा सल्लीबजारमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महामन्त्री थापाले नेपाली कांग्रेस देशकै ठुलो दल भएको र संसदमा समेत प्रमुख भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,  ‘हामीले नै बनाएको संविधान, हामीले ल्याएको व्यवस्था हो। अहिलेको शान्तिपूर्ण अवस्थामा हामीले काम गर्न सकेनौं भने अरूलाई दोष दिन मिल्दैन।’

थापाले कांग्रेस सबै दलसँग मित्रता कायम गर्दै पार्टीविरुद्ध फैलिएका भ्रम चिर्न केन्द्रित हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी सरकारमा छौं, सरकारलाई सफल बनाउन गठबन्धन दलहरूसँग सहकार्य गर्छौं। सरकारबाहिर रहेका दलसँग पनि संवाद राख्छौं।’

महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा देशलाई तीव्र विकासको दिशामा लैजाने योजना रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी बेरोजगारी घटाउन चाहन्छौं, शिक्षा र स्वास्थ्य सुधार गर्न चाहन्छौं, आम नागरिकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित अघि बढिरहेका छौं।’ 

देशभर रोकिएको विकासलाई पुनः गतिमा लैजानुपर्ने र त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय गरेर आवश्यक स्रोत जुटाउनेतर्फ लागि पर्ने थापाको भनाइ छ। 

कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश पार्टी अध्यक्ष ललितजङ्ग शाही, पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुरेश अधिकारीलगायत नेताको उपस्थिति रहेको थियो।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई सल्यानको सल्लीबजारमा स्वागत गरिएको छ। स्वागतकार्यक्रमलाई सम्वोधन गर्दे महामन्त्री थापा।