काठमाडौँ, फागुन १० गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
श्रेष्ठले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।