• १० फागुन २०८१, शनिबार

कहिले बन्ला मनाङका अलपत्र पुल

blog

मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जेमा अलपत्र अवस्थामा मर्स्याङ्दी नदीमा निर्माणाधीन पुल । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, फागुन १० गते ।
आठ वर्षअघि २०७३ साल असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त रूपमा ठेक्का सम्झौता गरेको मनाङको नासोँ गाउँपालिका ५ र ६ नम्बर वडा जोड्ने मोटरेबल पुल हालसम्म दुई पिलरमा नै सीमित छ ।

२०७४ मङ्सिर २३ गतेसम्म पुल निर्माण गरिसक्नु पर्नेमा कुल ३० प्रतिशत हाराहारी मात्र सकिएपछि आजका मितिसम्म सो कार्य अलपत्र नै छ । नेपाली उखान बोकेकी आमालाई पीरैपीर भनेजस्तै ठेकेदार कम्पनी बेपत्ता भएपछि गाउँलेको दुःख कहिल्यै सकिएनन् ।

यसैगरी, मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जेमा मर्स्याङ्दी नदीमा २०७४ साल असार मसान्तमा काम सक्ने गरी सडक डिभिजन कार्यालयले ठेक्का लगाएरका सुरु गरेको अर्को मोटरेबल पुलको पनि अझै काम सम्पन्न हुन सकेको छ । यो पुल पनि अलपत्र नै छ ।

पुल सम्पन्न गर्न पालिकाले हारगुहार गर्‍यो, काम सुरु गर्‍यो अनि ठेकेदार कम्पनी बेपत्ता हुन्छ । हिमाली भेग जाडोमा चिसो तथा हिउँकै कारण सिमेन्टजन्य कामै हुँदैन वर्षामा सडकै हुन्न, बाढीपहिरोको त्रासैत्रास छ । घचघच्याउने तथा ताकेता गर्ने निकाय पनि आफ्नै सुसेधन्दामा व्यस्त । अधिकांश मनाङी सहर सुविधा लिएर बसेका छन्, थोरै मनाङी मात्र गाउँमा कहर काट्दै छन् ।

सङ्घीय सांसद टेकबहादुर गुरुङ दुई वर्ष निलम्बनमा परेर हालै मात्र फुकुवा हुनुभएको छ । निलम्बनमा छउन्जेल उहाँले खुलेर कुनै कामकुरा गर्नुभएन । प्रदेश सांसद राजीव गुरुङले एकछत्र सरकारैपिच्चे मन्त्री भएर आफ्नो कार्यकाल गुजार्नुभयो । केही महिना अघि उहाँ पक्राउ परी विभिन्न मुद्दामा जेल सजाय काट्न बाँकी रहेको समय अहिले जेलमै बसेर बिताउँदै हुनुहुन्छ । बिहीबार मात्रै प्रदेश सांसद मुनिन्द्रजंग गुरुङले कहीँकतैबाट पनि पुल बन्ने निर्माण नहुने सङ्केत देखेपछि विशेष समय लिएर गण्डकी प्रदेशसभामा नासोँ गाउँपालिका ५ र ६ नम्बर वडा जोड्ने मोटरेबल पुलका विषयमा कुरा उठाउनुभयो ।

सांसद गुरुङले ८ वर्षदेखि काम अलपत्र पारेर बेवास्ता गरी सम्पर्कविहीन भएको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले पटकपटक म्याद थप गरेको हालसम्म पनि पुल नबनेको जसले गर्दा विद्यार्थी तथा पर्यटकलाई आउजाउमा निकै समस्या परेकाले क्याराभानका अध्यक्ष चन्द्र थकालीसँगको ठेक्का तोडेर नयाँ ठेक्का लगाई छिटोभन्दा छिटो कार्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अन्तिमपटक क्याराभानका अध्यक्ष चन्द्र थकालीले गएको असारमा पुल बनाइसक्ने प्रतिबद्धता जनाउनुभएको थियो । नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको पहलमा थकालीले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसी भट्टराई, पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीसमेतको उपस्थितिमा काम गर्ने लिखित प्रतिबद्धता गर्नुभएको थियो तर, प्रतिबद्धता जनाएको दिनदेखि उहाँ सम्पर्कविहीन हुनुभयो ।

त्यसो त जनप्रतिनिधिले वर्षेनी ठेकेदारलाई गुहार्छन् । ठेकेदार कुरा सुन्दैनन् । हुँदैन कहिल्यै भन्दैनन् तर काम कहिल्यै गर्दैनन् । गोरखापत्रकर्मी यो संवाददाताले क्याराभानका अध्यक्ष चन्द्र थकालीसँग कुरा गर्दा उहाँले काम सुरु भएको, दुई महिनामा सकिने भनी आफू अहिले मिटिङमा व्यस्त भएकाले पछि सम्पर्क गर्छु भन्दै पन्छिनुभयो ।

पटकपटक बैठक बसी पुल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता जनाए पनि कुनै काम हुन सकेको छैन । साविक जिल्ला विकास समिति हुँदा नै चार करोड एक लाखमा ठेक्का लागेको पुल पटक–पटक म्याद थप गर्दा पनि सम्पन्न भएको छैन ।

सङ्घीयता कायम भएपछि अहिले पुलको स्वामित्व पूर्वाधार विकास कार्यालयमा सरेको छ । सम्झौताअनुसारको मितिमा पुल नबनेपछि विसं २०७७ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी पहिलोपटक म्याद थप भयो । थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि पुनः २०७८ चैत मसान्तसम्ममा सक्ने गरी दोस्रोपटक म्याद थप भयो । त्यसपछि त न म्याद थप भएको छ, न कारबाही भएको छ । ठेकेदारले दुईतिर पिलर मात्र ठड्याएर करिब दुई करोड़ निकासा लगिसकेका छन् ।

पूर्वाधार विकास कार्यालयले ठेकेदारले समयमा काम नगरेपछि आरोप लाग्ने अवस्था आएको बताएको छ । क्याराभानले नै ठेक्का लिएको मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जेस्थित मर्स्याङ्दी नदीमाथिको पुल अलपत्र पारेपछि एड्भान्स पेमेन्ट ग्यारेन्टीबापतको ४२ लाख कार्यालयले जफत गरेको छ । उक्त ठेक्काविरुद्ध अहिले अख्तियारमा उजुरी परेकाले छानबिन भइरहेको छ ।