नागेन्द्रकुमार कर्ण
महोत्तरी, फागुन १० गते । २५ लाई २५ ले गुणन गर्दा कति हुन्छ ? कक्षा ११ को विद्यार्थीहरुलाई सोधिएको प्रश्नमा कुनै पनि विद्यार्थीहरुले सहि उत्तर दिन सकेन । सर्लाहीका प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह जलेश्वर नगरपालिका वडा नं. ४ सुगामा रहेको शुकदेव माध्यमिक विद्यालयको प्राविधिक तर्फका कक्षा ११ को विद्यार्थीहरुलाई गुणन सोध्दा कसैले जवाफ फर्काउन सकेका थिएनन् ।
त्यत्ति मात्रै होइन उहाँले कक्षा कोठाको पर्खाल देखाउनुहुँदै सिमेन्टले बनेको पर्खालहरु किन चर्किन्छन् भनेर विद्यार्थीहरुलाई सोध्दा प्राविधिकतर्फ सिभिल ईन्जिनियरिङ्ग पढिरहनु भएका विद्यार्थीहरु निरुत्तर बनेका थिए ।
‘जनसंवाद’ कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाको विभिन्न ठाउँको विद्यालयहरुको निरीक्षण भ्रमणमा गइरहनुभएका सांसद सिंहले शुक्रबार शुकदेव माध्यमिक विद्यालय सुगा पुग्नुभएको थियो । सो क्रममा उहाँले कक्षामा प्रवेश गरेर विद्यार्थीहरुको पठनपाठनको अवस्थाबारे बुझ्न सो प्रश्न सोध्नुभएको थियो ।
स्थानीय अभिभावक भरत पाण्डेयले शुकदेव माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक तर्फका विद्यार्थीहरु यति कमजोर रहेको देखेपछि आफुलाई एकदमै ग्लानी महसुस भएको बताउनुहुँदै सांसद सिंहको प्रश्नबाट शुकदेव माविको पठनपाठनको अवस्था उदाङ्गिएको बताउनुभयो ।
सांसद सिंह विद्यालयको निरीक्षण र संवादका लागि आउने सूचना पाएपछि विद्यालय पुग्नुभएका अभिभावक पाण्डेयले विद्यालयमा विद्यार्थीहरुको सङ्ख्या बढी तर उपस्थिति कम देखिएको प्रति पनि प्रश्न उठेको बताउनुभयो । पठनपाठन मात्रै होइन विद्यालयले विद्यार्थी सङ्ख्या बढी देखाएर आर्थिक दोहन गरिरहेको अवस्था देखिएको आरोप लगाउनुभयो ।
बालकक्षामा ४२ जना विद्यार्थीको सङ्ख्या देखाइए पनि सांसद सिंहसँगै कक्षाकोठामा पुग्दा सात जना विद्यार्थीको मात्रै उपस्थिति देखिएको थियो । उहाँले विद्यालयमा शिक्षाको अवस्था एकदमै नाजुक देखिएकाले तत्कालै प्रधानाध्यापकको सरुवा गरी पठनपाठनलाई गुणस्तरीय बनाउन आफुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सुझाव दिएको जानकारी दिनुभयो । विगत दुई दशकदेखि सो विद्यालयको प्रधानाध्यापक कृष्णचन्द्र चौधरी रहँदै आउनुभएको छ ।
संवादको क्रममा विद्यालयले पर्खाल लगाउने कार्यको व्यवस्थापन गरिदिन सांसद सिंहसँग आग्रह गरेका थिए । प्रधानाध्यापक तथा अभिभावकहरुले विद्यालय प्राङ्गणमा पर्खालको आवश्यकता देखिएकाले लेखा समितिका सदस्य समेत रहनुभएका सिंहलाई सो को व्यवस्थापनका लागि आग्रह गरिएको बताएका छन् । सो अवसरमा भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको भवनको अवस्था देखेर सांसद सिंहले भवनको रंगरोगनका लागि दूतावासलाई नपर्खिकन समेत आग्रह गर्नुभएको थियो ।
उहाँले अमरेशकुमार सिंह अहिले महोत्तरी जिल्लाको विभिन्न गाउँठाउँमा ‘जनसंवाद’ कार्यक्रम लिएर पुगिरहनुभएको छ । जनताको घरदैलोमा नै पुगेर उनीहरुको समस्या सुन्ने र समाधानको विषयमा छलफल गर्ने जनसंवाद गरिएको सभासद सिंहको भनाइ छ ।
उहाँले मधेशको अवस्था बुझ्न आफुले जनसंवाद कार्यक्रम गरिरहेको बताउनुहुँदै हरेक महिना हरेक जिल्लाको गाउँठाउँ घुम्ने र समस्याहरु बुझेर समाधानको बाटो पहिल्याउने सोच कार्यक्रमको रहेको स्पष्ट गर्नुभएको थियो ।
आफुले आधादर्जनभन्दा बढी विद्यालयको निरीक्षण गर्दा शिक्षाको अवस्था एकदमै कमजोर रुपमा पाएको बताउनुहुँदै शिक्षालाई अगाडि बढाउन सबैले हातेमालो र सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।