धनुषा, फागुन १० गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर हुने बताउनुभएको छ ।
शनिबार नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले महाधिवेशनबारे धारणा राख्नुभएको हो । कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस पूर्वमहामन्त्री सिंहले भन्नुभयो, ‘‘विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनःस्थापन भएदेखि नै चार वर्षमा कहिल्यै महाधिशेन भएको छैन । कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो ।’’
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहनुभएका सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको बताउनुभयो । ‘‘कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ ? हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरी पार्टी संगठनलाई अघि बढाऊँ ।’’
कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखापरेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो । पार्टीको नीति सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने सिंहको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । आम नागरिकलाई अधिकारसम्पन्न बनाउन जनचाहना अनुसारनै अहिलेको सरकारले काम गरिरहेको पनि उहाँले बताउनुभयो । राजनीतिक स्थीरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको सिंहले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा कांग्रेस प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुंगाना पनि सहभागी हुनुहुन्थ्यो । कांग्रेस पूर्वमहामन्त्री सिंह धनुषामा रहँदा आज नेपाली कांग्रेस प्रचारप्रसार विभागले आयोजना गरेको कार्यक्रममा पनि आज सहभागी हुनुहुनेछ ।