काठमाडौं, फागुन १६ गते । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुने सेवाग्राहीको सङ्ख्या एक करोड ७० लाख पुगेको छ ।
विभागअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसीप्रसाद दाहालले हालसम्म ६० लाख परिचयपत्र उत्पादन भएको तथा २१ लाख सेवाग्राहीले मात्र परिचयपत्र लिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय परिचयपत्रलाई सामाजिक सुरक्षा भत्ता, पेन्सन, राहदानी, कम्पनी दर्तालगायतका सेवाहरुसँग पनि आबद्ध गरेसँगै यसको माग झनै बढेको बताउनुभयो ।
निर्देशक दाहालले भन्नुभयो, “हामीले अरु सेवाहरुसँग आबद्ध गराउने भनेपछि पछिल्लो समय माघदेखि चाप बढेको छ । माग सिर्जना भएपछि जनशक्ति थप गरेर ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा यससँग सम्बन्धित काम भइरहेको छ । त्यसमा पनि, आवश्यकता अनुसार अपरेटरहरु, स्टेसनहरु थप गरिरहेका छौं ।”
उहाँले काठमाडौं जिल्लाको हकमा महानगर र सबै पालिकाका वडाबाट परिचयपत्र वितरण भइरहेको बताउनुभयो । काठमाडौंमा अस्थायी बसोबास गरिरहेकाका लागि नारायणहिटीमा ३० भन्दा बढी केन्द्रहरु राखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले जहाँ–जहाँ आबद्ध गरिएको छ, ती निकायहरुमा पुगेका मान्छेहरु राष्ट्रिय परिचयत्र बनाउनका लागि फेरि त्यहाँबाट फर्किनुपर्ने अवस्था नहोस् भनेर त्यहाँ पनि स्टेसनहरु राखेका छौं ।”
राष्ट्रिय परिचयपत्र प्रणालीमा डेढ करोडभन्दा बढी सेवाग्राही आबद्ध भए पनि परिचयपत्र वितरणमा किन ढिलाइ भएको हो भन्ने जिज्ञासामा उहाँले परिचयपत्रको नम्बरबाट नै अरु सेवाका काम भएपछि परिचयपत्र लिनेको सङ्ख्या कम भएको हुनसक्ने बताउनुभयो । हाल विभागमा रहेको मेसिनले प्रतिघण्टा १५ सय परिचयपत्र उत्पादन गर्ने क्षमता राख्दछ ।
उहाँले भन्नुभयो, “कार्डको नम्बर भइसकेपछि कार्ड नभए पनि सेवा प्राप्त हुनसक्ने भयो । यो कार्डका लागि आफैं उपस्थित हुनुपर्छ । यस्तो अवस्थामा कतिपय विदेश गएका छन् । कतिपय जिल्लाबाट दर्ता गर्नुभएको हकमा काठमाडौंबाट लिन मिलेन, यस्तो अवस्था छ ।”
राष्ट्रिय सभागृहबाट पाँचसय वितरण
राष्ट्रिय परिचयपत्र वैयक्तिक विवरण सङ्कलन केन्द्र, राष्ट्रिय सभागृहका रुजु अधिकारी पदमबहादुर थापाका अनुसार पछिल्लो तीन महिनामा पाँचसय परिचयपत्र वितरण भएको छ । उहाँले हालसम्म केन्द्रमा २५ सय परिचयपत्र प्राप्त भएको र जसमध्ये पाँचसय परिचयपत्र वितरण भएको जानकारी दिनुभयो । अबको केही दिनमै थप पाँच हजार परिचयपत्र यस केन्द्रमा आउने निश्चित भइसकेको उहाँको भनाइ छ ।
उहाँले राष्ट्रिय सभागृहस्थित राष्ट्रिय परिचयपत्र वैयक्तित विवरण सङ्कलन केन्द्रबाट काठमाडौं महानगरपालिकाका सबै वडा तथा सरकारी कर्मचारीको काम भइरहेको जानकारी दिनुभयो ।
थापाले भन्नुभयो, “१ अक्टोबरभन्दा पहिला मेसेज जाने जति सबैको हामीले काठमाडौं जिल्ला प्रशासन कार्यालयको रुम नम्बर १२२ बाट वितरण गरेका छौं । १ अक्टोबरभन्दा पछाडि मेसेज ज–जसले पाउनुभएको छ, उहाँहरुको कार्ड राष्ट्रिय सभागृहबाटै वितरण गरेका छौं ।”
उहाँले राष्ट्रिय सभागृहमा दर्ता भएका ९९ प्रतिशतको परिचयपत्र प्रिन्ट भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो कार्ड वितरण भएको तीन महिना भयो । पाँच हजार कार्ड थप आउँदैछ । पुरानो स्टक दुई हजार छ ।”
उत्पादनको अनुपातमा नागरिकको हात–हातमा राष्ट्रिय परिचयपत्र किन पुग्न नसकेको हो भन्ने जिज्ञासामा उहाँले परिचयपत्रको नम्बरले नै सबै सेवा प्राप्त हुने हुँदा कार्ड लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको हुन सक्ने बताउनुभयो ।
रुजु अधिकारी थापाले भन्नुभयो, “इनराेल्मेन्ट गर्ने बित्तिकै हामीले नम्बर दिन्छौं । सबै काम त्यसैबाट हुन्छ । केही सेवाग्राहीको त्यही नम्बरले काम चलिरहेको छ, कार्ड विस्तारै लिन जाउँला भन्नेखालको सोचको कारणले हो । कार्ड वितरणमा सोचेअनुरुप नभएको महसुस हामीले गरिरहेका छौं ।”