• १० फागुन २०८१, शनिबार

पूर्वाञ्चलमा भएको यातायात बन्द फिर्ता

blog

फाइल तस्बिर

साहारा लिम्बू 

फुङलिङ, फागुन ९ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबुलकारको विषयलाई लिएर बिहीबार काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकमाथि भएको कुटपिटको विषयलाई लिएर यातायात व्यावसायीले गरेको यातायात बन्द फिर्ता भएको छ । 

शुक्रबार यातायात व्यावसायी र आन्दोलनरत पक्षबिच छलफल भई आन्दोलनरत पक्षले गाडीको मर्मत र घाइते चालकको उपचार गर्ने सहमति गरेसँगै यातायात बन्द फिर्ता भएको ताप्लेजुङ पाथीभरा यातायात प्रालिका कर्मचारी सरन लाबुङले जानकारी दिनुभयो । 

बिहीबार प्रहरी र आन्दोलनरत पक्षबिच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी र मानव अधिकारकर्मी चढेको मे. १ ज. २५७९ को गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । सोही क्रममा गाडीचालक राजकुमार पौडेलमाथि कुटपिट भएको थियो ।  

उहाँको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भई रहेको छ । उक्त घटनालाई लिएर यातायात व्यवसायीले पूर्वाञ्चल यातायात बन्दको आह्वान गरेका थिए ।