काठमाडौँ, फागुन ९ गते । नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजर्माग केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताउनुभयो । उहाँले अभियानको समापन चैत ८ गते कञ्जनपुरमा पुगेर गरिने जानकारी दिनुभयो । उहाँका अनुसार तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूको बारेमा जागरण अभियान केन्द्रित हुने छ ।
‘‘जनतासँग माओवादी हुलाकि राजमार्ग तराई–मधेश जागरण अभियान फागुन १२ गते नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट सुरु हुँदैछ । र त्यो अभियान आउँदो चैत ८ गते कञ्चनपुरमा समाप्त हुनेछ । यो अभियान खासगरी तराई–मधेश जागरण अभियान हुने छ ।,’’ प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘र यसमा हुलाकी मार्गलाई आधार बनाएर सुरु गरिने छ । अभियान क्रममा तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूमा हामी केन्द्रित हुनेछौँ । त्यसमा हामी अध्यक्ष र उपमहासचिवसम्म त्यहाँ जानेछौं । अभियानका क्रममा सांस्कृतिक टोली पनि समावेश गरिने छ । त्यस अवधीभर हामी जनताकै घरमा बस्ने छौँ ।’’
अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुने छ । अभियान फागुन १६ देखि २४ सम्म मधेश प्रदेशमा हुने छ ।
फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ ।
फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुने छ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।
२८ फागुनमा रूपन्देहीमा कार्यक्रम हुने छ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुने छ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।