जनार्जन खत्री
सर्लाही, फागुन ९ गते । सर्लाहीको पूर्वी बेल्टमा विद्युत् आपूर्ति सहज बनाउने उद्देश्यले हरिपूर्वामा निर्माण गरिएको विद्युत् सब स्टेसन सञ्चालनमा ल्याइएको छ ।
विद्युत् सब स्टेसनमा बिहीबारदेखि लोड दिएर सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख एवं उप–प्रवन्धक इन्जिनियर उमेशप्रसाद यादवले जानकारी दिनुभयो । ३३-११ केभीको हरिपूर्वा सब स्टेसनबाट तत्काल हरिपूर्वा र पर्सा गाउँपालिका क्षेत्रमा मात्र विद्युत् प्रवाह गरिएको छ ।
अहिले परीक्षणकै क्रम रहेकाले यी दुई पालिकामा हरिपूर्वा सब स्टेसनबाट विद्युत् प्रवाह भइरहेको र आगामी दिनमा ब्रम्हपुरी, ईश्वरपुर, चन्द्रनगरलगायत पूर्वी बेल्टका अन्य पालिकामा पनि विद्युत् प्रवाह गर्ने योजना रहेको मलङ्गवा वितरण केन्द्रले जनाएको छ । सर्लाहीको पूर्वी बेल्टमा मलङ्गवा सवस्टेशनदेखि लामो प्रशारण लाइन भएर बत्ती तान्नुपर्दा बारम्बार विद्युत् कटौती भइरहने, भोल्टेज कम आउनेजस्ता समस्याबाट स्थानीय बासिन्दा आजित रहेका थिए ।
बिहीबारदेखि हरिपूर्वा सब स्टेसन चालू भएसँगै अनियमित विद्युत् कटौती र भोल्टेजको समस्या समाधान भएको हरिपूर्वा नगरपालिका–२, का स्थानीय वासिन्दा समेत रहेका पत्रकार मुकेश झाले बताउनुभयो । हरिपूर्वा र पर्सा क्षेत्रका स्थानीय लामो समयदेखि हरिपूर्वा सब स्टेसन सञ्चालनको प्रतिक्षामा रहेका थिए ।
हरिपूर्वा नगरपालिका २ मा केही वर्षअघि नै सब स्टेसन निर्माण भएपनि हरिपूर्वा र ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा बिजुलीको पोल गाड्ने विषयमा विवाद हुँदा सब स्टेसन नै अलपत्र रहेको थियो । गएको कात्तिकमा पोल गाड्ने काम सकेर बल्ल सब स्टेसन सञ्चालनमा ल्याइएको हो । हरिपूर्वा सब स्टेसनमा कार्यरत प्राविधिक मेघाकान्त साहले सब स्टेसनमा १६ एमभिएको ट्रान्सफर्मर जडान गरिएको जानकारी दिनुभयो ।
प्राविधिक साहका अुनसार बिहीबार लोड दिन सुरु गरिएदेखि सब स्टेसनमा कुनै प्रकारको प्राविधिक समस्या देखा परेको छैन् । पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सब स्टेसनमा पुर्याइएकाे छ ।