जनार्जन खत्री
सर्लाही, फागुन ९ गते । शिलान्यास भएको १२ वर्षपछि सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ ।
हरिपूर्वा नगरपालिका–२, मा निर्माण गरिएको अस्पतालको शुक्रबार नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी र सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । २०६९ साल मङ्सिर २ गते तत्कालिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले अस्पताल भवनको शिलान्यास गर्नुभएको थियो ।
भवन निर्माणको काम दस वर्ष लगाएर २०७९ सम्पन्न गरी सहरी विकास तथा भवन कार्यालयले हरिपूर्वा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले नगरपालिकालाई अस्पताल भवन हस्तान्तरण भएपश्चात गत वर्षदेखि नै सेवा सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन गरिए पनि बेलैमा नगरसभा हुन नसक्दा यो वर्षलाई सारिएको बताउनुभयो ।
यो वर्ष असारमै बजेट पारित भएकाले आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद, चिकित्सक र अन्य स्वास्थ्यकर्मी नियुक्त गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख साहले बताउनुुभएको छ । अस्पताल सञ्चालनका लागि दुुई जना एमबिबिएस चिकित्सक, एक जना रेडियोग्राफर, आँखासम्बन्धी रोगको उपचार गर्ने एक जना स्वास्थ्यकर्मी र तीन जना सिनियर अहेब नियुक्त गरिसकिएको हरिपूर्वा नगरपालिकाको स्वस्थ्य शाखाका संयोजक रामएकवाल रायले बताउनुुभयो ।
पाँच जना जग्गादाताले प्रदान गरेको १० कट्ठा जग्गामा अस्पताल भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले अस्पताल उद्घाटन समारोहमा शुक्रबार जग्गादातालाई कदर–पत्रसहित सम्मान गरेको छ ।
जग्गादाता विनोद साहले वर्षौको प्रतीक्षापछि आफूहरूले प्रदान गरेको जग्गामा अस्पताल सञ्चालन हुँदा अत्यन्त खुसी लागेको बताउनुुभयो । उहाँले अस्पताल भवन निर्माणमा जस्तो अब राजनीति नगर्न आग्रह समेत गर्नुभएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने पालिकाको जिम्मेवारी भएकाले नगर अस्पतालमा आवश्यक जनशक्ति र उपकरणको उचित व्यवस्थापन गरी स्थानीय बासिन्दालाई प्रभावकारी ढङ्गले स्वास्थ्य सेवा प्रदान गर्न सुुझाव दिनुुभयो । हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले नगरपालिकाको मातहतमा रहने नगर अस्पतालमा आवश्यक पर्ने जनशक्तिको नियुक्ति तथा औजार उपकरणको व्यवस्थापनमा नगरपालिका निरन्तर लागिरहने बताउनुुभएको छ ।