सिराज खान
नेपालगन्ज, फागुन ९ गते । फागुन १९ गतेदेखि नेपालगन्ज रङ्गशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि रङ्गशालाको मर्मतसम्भार र सरसफाइ गरेर तयार पारिएको छ ।
प्रतियोगिताको अन्य तयारीसँगै रङ्गशालाको सरसफाइदेखि सामान्य मर्मतसम्भार र मैदानलाई तयार गर्ने कार्य पूरा गरिएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो।
प्रमुख कार्यकारी शाहका अनुसार प्रतियोगिताका लागि रङ्गशालाको प्याराफिटको मर्मतसम्भार, रङ्गरोगन, विद्युतीकरणमा सुधार, सरसफाइ लगायतका कामलाई तिव्रता दिइएको छ ।
बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता हुनेछ ।
लामो समयपछि रङ्गशालामा कुनै ठुलो प्रतियोगिता हुन लागेकोले स्थानीय फुटबल खेलाडीमा अत्यधिक उत्साह देखिएको एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।
उहाँले आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज रङ्गशालामा करोडौं लगानी गरेर पूर्वाधार निर्माण गरिए पनि प्रतियोगिता र प्रशिक्षण नहुँदा पूर्वाधार जिर्ण बन्दै गएको बेला हुन लागेको प्रतियोगिताले खेल पूर्वाधारको प्रयोग पनि हुने बताउनुभयो ।