जनार्जन खत्री
सर्लाही, फागुन ९ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मत कार्य सम्पन्न गरी पुलबाट सवारी साधन सञ्चालन गर्न थालिएको छ ।
पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान उप्किएको थियो । क्षति पुुगेको भागमा मर्मतको काम सकेर पुलबाट एक सातापछि नियमित सवारी साधन सञ्चालन हुन थालेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दनप्रसाद तोरसले जानकारी दिनुुभयो ।
पुलको मर्मत कार्य गर्न भन्दै माघ २७ गतेदेखि पुलबाट सवारी साधन सञ्चालनमा रोक लगाइ डाइभर्सनबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको थियो । पुल सञ्चालन भएसँगै अब डाइभर्सन भत्काएर त्यहाँ हालिएका ह्यूमपाइप निकाल्ने तयारी भई रहेको इन्जिनियर तोरसले बताउनुुभयो ।
पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको ‘कङ्क्रिट’ हालेर ढलान गरिएकाले तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने भएको प्राविधिकले बताएका छन् । सर्लाहीमा ५५ वर्षअघि नै निर्माण गरिएको बागमतीसहित अन्य खोलाको पुल जिर्ण बनेको लामो भई सकेको छ ।
पुलमा बर्सेनी खाल्डाखुल्डी परेको ठाउँमा टाल्टुल पारेर सवारी साधन सञ्चालन हुँदै आएको छ । अब पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा यी पुलसँगै अर्को समानान्तर पुल निर्माण गर्ने तयारी गरिएको छ । पूर्व–पश्चिम राजमार्गमा हरिवनस्थित चापिनी खोलामा राजमार्ग विस्तारको क्रममा समानान्तर पुल बनाउने काम सुरु भई सकेको छ ।