गुणबहादुर रोका
सुलीकोट, फागुन ९ गते । चोरी गरी घरमा आगो लगाउने गोरखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १० का ३६ वर्षीय मञ्जिल मग्रती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगत लामो समयदेखि सो नगरपालिका – १० छेपेटारमा बुद्धिमान गुरुङ र गीता पोखरेलले सञ्चालन गरेको खाजाघरबाट नगद चोरी गरी खाजा घरमा आगो लगाई पूर्णरुपमा ध्वस्त बनाएर बेपत्ता भएका युवालाई प्रहरीले मङ्गलबार प्रकाउ गर्न सफल भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा चोरी भएका केही सामानहरु मञ्जिल मग्रतीको घरमा फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।
पक्राउ परेका मग्रतीको प्रारम्भिक अनुसन्धानको क्रममा गत माघ १७ गते गुरुङ र पोखरेलको खाजाघरबाट नगद, सामन र खाजा घरमा आगोलागी गराई पूर्ण रुपमा ध्वस्त बनाएको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मङ्गलबार चोरी आरोपमा पक्राउ परेका मग्रतीलाई शुक्रबार चोरी तथा आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
आरोपी मग्रती यस अघि पनि २०७१ जेठ १८ मा डाँका चोरी गरी कर्तव्य ज्यान कसुर, २०७९ कात्तिक १७ गते चोरी कसुर र २०८० वैशाख ३१ गते सार्वजानिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भई कारबाही भएको जिल्ला प्रहरी कार्यालय गोरखाको अभिलेखमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।