राधा लुइटेल
फिदिम, फागुन ९ गते । पाँचथर जिल्लाका ७ हजार ९ सय १८ जना किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको (एच.पि.भि.)खोप लगाइएको छ । जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ कार्यालय पाँचथरले जनाएकोे छ ।
जिल्लाभित्रका विद्यालयमा अध्ययन गर्ने ७ हजार ४ सय १६ र विद्यालय नजाने १ हजार ५ सय ३६ गरी ८ हजार ९ सय ५२ किशोरी रहेकोमा कक्षा ६ र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरु गरी जम्मा १४ सय ६८ जनालाई र कक्षा ७ देखि १० का किशोरीहरु र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ६ हजार ४ सय ५० लाई एचपिभि खोप लगाइएको जिल्ला जनस्वस्थ्य अधिकृत शलिना श्रेष्ठले जानकारी दिनुभयो ।
खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चलाइएको थियो । यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम नहुने स्वास्थ्यकर्मीहरु बताउनुहुन्छ ।
नेपाल सरकारले देशव्यापी रुपमा पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग न्यूनीकरणका लागि अभियान चलाउने घोषणा गरेसँगै पाँचथर जिल्लाले किशोरीहरुलाई यो खोप दिएको हो । खोप विद्यालय र तोकिएका केन्द्रमा लगााइएको बताइएको छ ।
अभियानका लागि महिला स्वास्थ्यकर्मी र स्वयंसेवक खटिएका थिए ।