• ९ फागुन २०८१, शुक्रबार

बिरामी बोक्ने एम्बुलेन्स आफैँ बिरामी

blog

सदरमुकाम तम्घासमा थला परेर बसेको लु. १ च. ३३६१ नम्बरको एम्बुलेन्स । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, फागुन ८ गते ।
गुल्मीमा बिरामी बोक्ने १८ वटा एम्बुलेन्स आफैँ बिरामी भई थलिएर बसेका छन् । त्यी मध्येको एउटा उदाहरण हो भारतीय भूपू सैनिक कल्याणकारी समिति तम्घासद्वारा सञ्चालित लु. १ च. ३३६१ नम्बरको एम्बुलेन्स ।

गुल्मी जिल्लाको रेसुङगा नगरपालिका वडा नम्बर ८ को मुख्य सडक छेउमै लामो समयदेखि भारतीय भूपू सैनिक कल्याणकारी समिति तम्घासद्वारा सञ्चालित सो एम्बुलेन्स थला परेर बसेको छ । लामो समयदेखि थला परेर बसेको एम्बुलेन्सलाई सञ्चालनमा ल्याउनका लागि सरोकारवाला निकाय देखेको नदेख्यै गरी आँखा चिम्लेर बस्ने गरेका छन् । 

भारत सरकारद्वारा उपहारको रूपमा प्रदान गरिएको र नेपाल सरकारबाट राजस्व छुट सुविधाबाट ल्याइएको उक्त एम्बुलेन्स यसै बेवारिसे जस्तै भएर सडकको एक छेउमा थन्किएर बसेको छ । सबैको नजर पुग्ने स्थानमा यसरी लामो समयसम्म बेवारिसे जस्तै बनेर एम्बुलेन्स बस्नु दुःखद भएको यहाँका स्थानीयहरू बताउछन् ।

यो त सदरमुकाम तम्घासमा रहेको एउटा उदाहरण मात्रै हो । गुल्मी जिल्लामा रहेका १८ वटा एम्बुलेन्स यसैगरी थला परेर बसेका छन् । गुल्मी जिल्लामा रहेका कुल ५६ वटा एम्बुलेन्समध्ये ३८ वटा एम्बुलेन्स मात्र सञ्चालनमा रहेको संयुक्त एम्बुलेन्स चालक सङ्घ गुल्मीका अध्यक्ष मोहन केसीले जानकारी दिनुभयो , बाँकी १८ वटा एम्बुलेन्स यसै थलिएर बसेको उहाँको भनाइ छ । जिल्लामा विभिन्न सङ्घसंस्थाहरूबाट सञ्चालनमा रहेका एम्बुलेन्सहरू आर्थिक अभावका कारण मर्मत गर्न नसकी यसै थलिएर बसेको उहाँले बताउनुभयो । 

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले एम्बुलेन्स ल्याउनेमा मात्र प्रतिस्पर्धा हुने गरेको टिप्पणी गर्नुभयो । एम्बुलेन्स ल्याउनेमा मात्र प्रतिस्पर्धा हुने गरेको बताउँदै दिगो रूपमा सञ्चालन गर्नका लागि कसैको ध्यान नपुग्ने गरेको उहाँको तर्क छ । जसका लागि स्थानीय सरकार र सरोकारवालाहरूले बेलैमा ध्यान दिनुपर्नेमा पाण्डेले जोड दिनुभयो ।

लु. १ च. ३३६१ नम्बरको एम्बुलेन्सलाई मर्मत गरी सञ्चालनमा ल्याउन नसकी यसै बसेको भारतीय भूपू सैनिक कल्याणकारी समिति तम्घासका सदस्य लीलबहादुर बस्नेतले जानकारी दिनुभयो । एम्बुलेन्सको इन्जिन बनाउन नसकिएको र पाल्पा मिसन अस्पताललाई दिने गरी समितिले तयारी गरेको उहाँको भनाइ छ ।