• ९ फागुन २०८१, शुक्रबार

पूर्वखोलामा प्रथम लोकतान्त्रिक महोत्सव

blog

प्रजातन्त्र दिवसको अवसरमा महोत्सवको उट्घाटन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), फागुन ८ गते ।
पाल्पाको पूर्वखोलामा प्रथम लोकतान्त्रिक महोत्सव २०८१ भएको छ । प्रजातन्त्रलाई विकाससँग जोड्ने ध्येयका साथ नेपाली कांग्रेस पूर्वखोला गाउँ कार्य समितिले महोत्सवको थालनी गरेको हो ।

प्रजातन्त्र दिवसको अवसरमा बुधबार महोत्सवको उट्घाटन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशमा विकासको गति चार गुणाले अघि बढाउनु पर्ने बताउनुभयो । २०८० देखि ९० सम्मको दश वर्ष नेपालले अभूत पूर्व प्रयोग गरेर विकासको गतिलाई बढाउनुपर्ने बताउनुभएको हो । उहाँले विगतको तुलनामा विकास धेरै भए पनि अझ अपुग रहेको बताउनुभयो ।

“२०८० देखि ९० सम्मको दस वर्ष कुनै पनि राजनैतिक लडाईमा खेर फाल्ने होइन । यो दस वर्षको नेपालले अभूत पूर्व प्रयोग गरेर हाम्रो विकासको गतिलाई कम्तीमा पनि चार गुणाले बढाउनु पर्छ ।” उहाँले भन्नुभयो । 

महामन्त्री थापाले भन्नुभयो, “आमनेपाली जनताले के भनिरहेको छ भने प्रगति धेरै भयो तर पुगेन । हाम्रो विकासको गति पुगेन । हामीलाई यो भन्दा बढी प्रगति चाहियो, हाम्रो जीवन स्तर योभन्दा बढी उकासिनु पर्छ ।” नेपाली कांग्रेस पार्टीले अहिले नै २०८४ सालको बारेमा चर्चा गर्न नहुने धारणा व्यक्त गर्दै भन्नुभयो, “अहिले दुई हजार एकासी हो । हाम्रो निर्वाचन प्रणालीले कुनै पनि एउटा पार्टी एक्लै सरकार बनाउन सक्दैन । चुनाव भन्दा अघि पनि अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा असफल भैसक्यो । त्यसैले अर्को पार्टीसँग मिलेर सरकार बनाई रहेका छौं । कांग्रेस र एमालेको सरकार ८४ सम्म चल्छ ।”


कांग्रेस र एमाले नेतृत्वको सरकाले अबको तीन वर्ष भित्र विकासको जग बसाल्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस जनताको विश्वासले सबैभन्दा ठुलो पार्टी बनेको भन्दै उहाँले अबका तीन वर्ष विगतका नेतृत्वले गरेको उदाहरणीय काम बाट प्रेरणा लिएर अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले अन्य दिवसको तुलनामा फागुन सातको आफ्नै महत्त्व रहेको बताउनुभयो । नेपाली जनता रैती बाट नागरिक भएको दिन मात्र नभै फागुन ७ नेपालको आधुनिक यात्रा प्रारम्भ भएको दिन भएकाले नयाँ पुस्तालाई प्रजातन्त्र दिवसको महत्त्वबारे जानकारी दिनु आवश्यक रहेको बताउनुभयो ।

पूर्वखोला गाउँपालिका–३ रिङ्नेरह हाटबजार मैदानमा भएको महोत्सवलाई कांग्रेसका केन्द्रीय सदस्य भरत शाह, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, पाल्पाका निवर्तमान सभापति  एवम् लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना, प्रदेश सहमहामन्त्री निमा गिरी, कांग्रेस प्रदेश सदस्य सन्दिप राना, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य पवित्रा पौड्याल ढकाल, कांग्रेस जिल्ला उपसभापति ज्ञानबहादुर गाहा, कांग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, महासमिति सदस्य एवम् रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रजातन्त्र दिवसको महत्त्वलाई उजागर गर्दै स्थानीय उत्पादन, कला संस्कृतिको प्रवर्धन गर्नका लागि महोत्सव सञ्चालन गरिएको नेपाली कांग्रेस पूर्वखोला गाउँ समितिका सभापति विष्णुकुमारी आचार्यले बताउनुभयो । महोत्सवको अवसरमा स्थानीय सा‌ंस्कृतिक झाँकी प्रदर्शनसँगै स्थानीय उत्पादनको प्रर्दशनी एवम् बिक्री र निःशुल्क स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन भएको थियो ।

विशेषज्ञ चिकित्सकसहितको उपस्थितमा भएको स्वास्थ्य शिविरमा ६३ जनाले दन्त परीक्षण, ३९ जनाले कानको जाँच र ४९ जनाले जनरल सेवा लिएका छन् । लोकतान्त्रिक महोत्सवलाई निरन्तर रूपमा अघि बढाउने नेपाली कांग्रेस पूर्वखोलाले जनाएको छ ।