लमजुङ समाचारदाता
लमजुङ, फागुन ८ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ गाउँमा डढेलो तथा आगलागी रोकथामसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । सीमा जोडिएको मनाङको जङ्गलमा दुई सातादेखि डढेलो फैलिरहेका बेला मस्र्याङ्दी गाउँपालिकाले भने गाउँ गाउँमा डढेलो रोकथाम अभियान चलाएको हो ।
डढेलो तथा आगलागीका घटना रोकथामका लागि सबै वडाका गाउँ गाउँमा सचेतना अभियान सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलो रोकथामका कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले जानकारी दिनुभयो ।
पालिकाको नौ वटा वडाका गाउँ तथा टोल टोलमा पुगेर डढेलोबारे सचेतना कार्यक्रम भइरहेको रोजगार संयोजक एवं कार्यक्रम अधिकृत नन्दराज गुरुङले जानकारी दिनुभयो । गाउँमा रहेका टोल समिति, शिक्षक, विद्यार्थी, वन समूह, आमा समूहलाई डढेलो रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
गुरुङका अनुसार वडा नं. ३ को पल्लोटारी, ढङ्गै, टपु, टारीकुना, थाकन सिउरुङ, वडा नं. ४ को डाँडागाउँ, गैरीगाउँ, छापा, मिप्रा, भित्ते जगत बस्तीमा सचेतना कार्यक्रम सञ्चालन गरिएका छन् । त्यसै गरी वडा नं. ५ को उपल्लो चिप्ला, तल्लो चिप्ला, घेर्मु, खानीगाउँ, वडा नं. ७ को नयाँगाउँ, तराइचे, वडा नं. ८ को जलजले, सिमलचौर गाउँमा सचेतनामूलक कार्यक्रम भइसकेका छन् ।
वडा नं. २ को मयुँम, वडा नं. ५ को घेर्मु, छिचु, न्युरी, बडालबिसौना, सन्जापु, वडा नं. ६ को बाहुनडाँडा, ठुलोबेँसी, नाइचे, भिरपुस्तुन, वडा नं. ७ को ताराचोक, उस्ता, वडा नं. ८ को भुस्मे र वडा नं. ९ को लामागाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बाँकी छ । गाउँमा सचेतना जगाउन कर्मचारीसँगै जनप्रतिनिधि पनि खटिनुभएको छ ।
सिउरुङ र छापा गाउँमा अध्यक्ष अर्जुन गुरुङ नै पुग्नुभयो भने अन्य गाउँमा त्यहीँका जनप्रतिनिधि सम्मिलित भएको गाउँपालिकाको वन वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ४ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।
नौ वडामध्ये ५ नम्बर वडाका गाउँ डढेलोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । वन क्षेत्रमा अधिकांश डढेलो मानवीय कारणले लाग्ने गरेको छ । डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालय लमजुङले पनि सचेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ । अभियान अन्तर्गत सबडिभिजन कार्यालय र वन समूहबाट जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थापन गर्ने काम गरिरहेको छ ।
जिल्लामा करिब ९१ हजार हेक्टर वन क्षेत्र रहेकोमा बर्सेनि करिब पाँच हजार हेक्टर क्षेत्रफलमा डढेलो लाग्ने गरेको तथ्याङ्क छ । गत वर्ष पनि करिब ६० हेक्टर क्षेत्रमा डढेलो लागेको थियो ।
यो वर्ष फागुन १ देखि ७ गतेसम्म डढेलो रोकथाम सप्ताहका रूपमा सचेतनाका काम गरिरहेको डिभिजन वन कार्यालय लमजुङका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका ३४२ सामुदायिक वन, १७३ कबुलियती वन र एउटा धार्मिक वन समितिले पनि आआफ्ना ठाउँमा सचेनाका कार्यक्रम गरिरहेका छन् ।