• ९ फागुन २०८१, शुक्रबार

‘नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा’

blog

नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महत । फाइल तस्बिर

काभ्रेपलाञ्चोक, फागुन ७ गते । नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताउनुभएको छ । 

आज नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औँ जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताउनुभयो । 

“सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध गर्यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६ र २०६२/०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाई गरेको छ”, उहाँले भन्नुभयो । 

उहाँले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने  मान्यतालाई कांग्रेसले स्थापित गरेको बताउनुभयो । बिपी कोइराराले भने झैँ अहिले ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउने उहाँको धारणा थियो । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्य, जिल्ला सभापति तीर्थ लामालगायतले शिक्षकको योगदानबारे चर्चा गर्नुभयो । सो अवसरमा शैक्षिक सत्र २०८० र २०८१ मा जिल्लाका उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । रासस