• ९ फागुन २०८१, शुक्रबार

नवलपुरमा १६ हजारभन्दा बढी बालिकाले लगाए एचपिभी खोप

blog

फाइल तस्बिर

ज्ञानु पंगेनी 

मध्यविन्दु, फागुन ७ गते । नवलपरासी पूर्व (नवलपुरमा) पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा ९६.१८ प्रतिशत बालिकाले खोप लगाएका छन् ।

सरकारले एचपिभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई निःशुल्क रूपमा खोप उपलब्ध गराएको थियो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन भएको खोप अभियानमा १६ हजार ४ सय ४५ जना बालिकाले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको खोप फोकल पर्सन खरेलप्रसाद चौधरीले जानकारी दिनुभयो । 

जिल्लामा रहेका आठवटा पालिकामा दुई चरणमा गरी खोप अभियान सम्पन्न भएको हो । अभियानमा विद्यालय नजाने १० वर्ष उमेर समूहका ४६ जना र दशदेखि १४ वर्ष उमेर  समूहका ९३ जना बालिकाले समेत खोप लगाएको खोप फोकल पर्सन चौधरीले जानकारी  दिनुभयो ।

जिल्लामा लक्ष्यभन्दा केही कम बालिकाले खोप लगाएको तथ्याङ्क देखिएको छ । तर कार्यालयको खोप फोकल पर्सन चौधरीका अनुसार तथ्याङ्क सङ्कलनका क्रममा केही त्रुटि हुँदा त्यस्तो देखिएको बताउनुहुन्छ । खोप अभियानमा विद्यालयका सबै बालिकाहरू समेटिएको चौधरीको भनाइ छ । 

‘हामीले विद्यालयसँग तथ्याङ्क माग्दा केही विद्यालयबाट नबुझेर किशोरको समेत तथ्याङ्क दिनुभएको रहेछ ।  खोप लगाउने क्रममा मात्र हामीले त्यसको बारेमा जानकारी पायौँ, हामीले पनि विद्यालय नजाने बालिकाहरूको तथ्याङ्क अलि धेरै अनुमान गरेका थियौँ ।  त्यसमा कमी भयो, त्यसैले पनि लक्ष्यभन्दा कमले खोप लगाएजस्तो देखियो तर, खोप अभियानमा सबै  बालिका सहभागी भएका छन् छुटेका छैनन्’ चौधरीले भन्नुभयो । 

अभियान अन्तर्गत जिल्लामा १७ हजार ९९ बालिकालाई खोप लगाइने लक्ष्य थियो । जिल्लाभर २ सय ३० विद्यालयसहित कुल ३ सय २० खोप केन्द्र रहनेछन्, ती खोप केन्द्रबाट १७ हजार ९९ छात्रा बालिकालाई खोप लगाइने कार्यालयका जिल्ला खोप फोकल पर्सन चौधरीले जानकारी दिनुभयो ।

जिल्लाको चारवटा पालिका गैँडाकोट र देवचुली नगरपालिका, बौदीकाली र बुलिङटार गाउँपालिकामा माघ २२ गतेदेखि २८ गतेसम्म र कावासोती, मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा माघ २८ गतेदेखि फागुन ६ गतेसम्म गरी दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो ।