• ९ फागुन २०८१, शुक्रबार

आजदेखि मदानेमा तेस्रो अध्यक्ष कप

blog

रमेश विश्वकर्मा
गुल्मी, फागुन ७ गते ।
गुल्मीको मदाने गाउँपालिकाले भनभनेको कुडापानी खेलमैदानमा आयोजना गर्न लागेको ‘तेस्रो अध्यक्ष कप’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरी बुधबारदेखि सुरु हुँदैछ । राष्ट्रिय प्रजातन्त्र दिवसको दिनदेखि सुरु भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताअन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगिता तथा अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ रुपियाँ, दोस्रो हुनेलाई २२ हजार २२२ रुपियाँ र तेस्रो हुनेलाई ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १११ रुपियाँ, दोस्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । वडास्तरीय महिला भलिबल प्रतियोगितामा यस गाउँपालिकाभित्र रहेका सातवटै वडाबाट महिला खेलाडी सहभागी हुनेछन् । 

गुल्मी जिल्लाका सबै स्थानीय तह, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका तथा प्युठान जिल्लाका झिमरुक र गौमुखी गाउँपालिकाबीच अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिता हुनेछ । आजदेखि सुरु हुने सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले गर्नुहुनेछ ।