• १६ भदौ २०८१, आइतबार

बेनी नगरकार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ १५ गते ।
हिमाली जिल्ला म्याग्दीको एकमात्रै नगरपालिका बेनी नगरपालिकाको कार्यपालिका सदस्यहरुमा गठबन्धनतर्फका उम्मेदवारहरु विजयी हुनुभएको छ ।

बेनी नगरपालिकामा गठबन्धन दलले शतप्रतिशत सफलता प्राप्त गरेको छ । बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवारमा दलित वा अल्पसङ्ख्यकतर्फ तीनजना र पाँचजना महिला सदस्यगरी कुल आठजना कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

बेनी नगर कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली कांग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान र बविता सापकोटा निर्वाचित हुनुभएको हो । दलित वा अल्पसङ्ख्यकतर्फ नेपाली कांग्रेसका मनकुमारी वि.क., नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा विजयी हुनुभएको हो ।

निर्वाचनमा गठबन्धनका उम्मेदवारले २९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले २३ मत प्राप्त गर्नुभएको थियो । बेनी नगरपालिकामा नेकपा एमालेका २३ जना, नेकपा माओवादी केन्द्रका १५ जना र नेपाली कांग्रेसका १४ जना मतदाता रहेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मतपरिणाम अनुसार वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेकपा एमालेको वडा नम्बर १, ५, र ६ मा प्यानलसहित विजयी, वडा ७ मा एकजना, ८ मा चारजना विजयी र १० मा दुईजनासहित नगर प्रमुख गर्दा २३ मत रहेको छ । नेपाली कांग्रेसकातर्फबाट वडा नम्बर २ मा प्यानल, वडा ३ मा एक जना वडा ७ मा ४ जना, वडा ८ मा १ जना, वडा ९ मा प्यानल र १० नम्बर वडामा ३ गरी १९ जना नगरपालिका भित्र विजयी भएका थिए । माओवादी केन्द्रको उपप्रमुखसहित वडा ३ नम्बर वडामा ४ जना र ४ नम्बर वडामा ५ जना गरी १० जना विजयी भएका थिए ।

बेनी नगरपालिका भित्र निर्वाचनमा वडा नम्बर २, ८, ७ र ९ मा माओवादीले रुख चिह्न लिएर चुनाव लडेका थियो भने वडा नम्बर ६ मा कांग्रेसले हसिया हथौडा चिह्नबाट चुनावमा सहभागी हुँदा रुखमा चुनाव लडेका उम्मेदवारहरु मात्रै विजय भएका थिए ।

पश्चिम म्याग्दीको मालिका गाउापालिकामा गठबन्धनतर्फ बहुमत भएपनि कार्यपालिका निर्वाचनमा गठबन्धनका मतदाताले एमालेका उम्मेदवारलाई मतदान गरेपछि कार्यपालिकामा एमालेको बहुमत पुगेको थियो । मालिकाको त्रासमा रहेको बेनी नगरपालिकामा भने गठबन्धनको मत क्रस नहुँदा अब कार्यपालिकामा गठबन्धनको बहुमत पुगेको छ ।