• १३ असोज २०८१, आइतबार

भूमिहीन र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने तयारी

blog

रेखीराम राना
पाल्पा, जेठ १५ गते ।
राष्ट्रिय भूमि आयोग पाल्पाले सुकुमवासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न काम अगाडि बढाएको छ । आयोगले जिल्लाको तानसेन, रामपुर, माथागढी र रैनादेवी छहरामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलन गरेर लालपुर्जा वितरणको कामलाई अगाडि बढाएको हो ।

जिल्लाको रामपुरमा सात सय ८३ जना निवेदकलाई जग्गा वितरण गर्न सबै प्रक्रिया पूरा गरेको अयोगले जनाएको छ । आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले रामपुरमा झण्डै आठ सय जनाको जग्गा सम्बन्धी समस्या समाधानको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । रामपुर नगरभित्रका थप दुई हजार दुई सय जनाको नयाँ निवेदन प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।

जिल्लाको माथागढी गाउँपालिकामा एक हजार दुई सय ३४ जना अव्यवस्थित बसोवासी, सुकमवासी तथा भूमिहीनको निवेदन प्राप्त भएको छ । माथागढीमा निवेदन दिनेमध्ये अधिकांश निवेदक अव्यवस्थित बसोवासी रहेको आयोगका जिल्ला अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

तानसेन हालसम्म एक हजार दुई सय २३ जनाको निवेदन आएको छ । तानसेनको समेत निवेदन आउने क्रम जारी छ । अब आयोगले माथागढी र तानसेनको कामलाई तत्कालै अगाडि बढाउने जानकारी उहाँले दिनुभयो । जिल्लाको रैनादेवी छहरामा भने हालसम्म निवेदन सङ्कलनको कार्य भइरहेको छ ।

पाल्पा जिल्लामा अधिकांश स्थानमा विद्यालय, तत्कालिन गाविस र विभिन्न सङ्घसंस्थाले वितरण गरेका जग्गाको समस्या रहेको छ । रामपुर र तानसेनमा भने नगन्य मात्रामा सुकुमबासीको समस्या समेत देखिएको आयोगका सदस्य अमरसिंह प्रधानले जानकारी दिनुभयो । निवेदन सङ्कलन भएका स्थानमा जग्गाको नापजाँच गर्ने तथा अन्य प्रक्रिया टुङ्ग्याएर काम अगाडि बढाउने आयोगका पदाधिकारीले बताएका छन् ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।