• ९ फागुन २०८१, शुक्रबार

उडिसा घटना : विद्यार्थीको टिकट खर्च संस्थाले नै व्यहोर्ने

blog

काठमाडौं, फागुन ६ गते । भारतको उडिसामा भएको घटनाका प्रकृति लम्सालको निधन भएपछि छात्रावास छोडेर नेपाल आएका विद्यार्थीहरुको आतेजाते टिकट खर्च उक्त शैक्षिक संस्थाले नै व्यहोर्ने तथा कसैको परीक्षा छुट्न गएमा पुनः परीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । 

भारतको उडिसा राज्यस्थित क्लिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि छात्रावास खाली गराइएकाे  थियाे । 

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘उडिसामा भएको घटनाका सम्बन्धमा आवश्यक छानबिन तथा बुझ्नका लागि यस राजदूतावासबाट खटाइएका पदाधिकारीहरु उडिसा पुगेर त्यहाँ भएका विद्यार्थीहरुलाई भेट्नुभएको थियो । साथै, सम्बन्धित शैक्षिक संस्थाका पदाधिकारीसँग समेत छलफल गर्नुभएको थियो । उक्त छलफलका क्रममा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूले समेत शैक्षिक संस्थाका पदाधिकारीहरुसँग फोनमा कुराकानी गर्नुभएको थियो ।’’

राजदूतावासबाट खटिनु भएका पदाधिकारीहरुका अनुसार हाल त्यहाँको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । यसैक्रममा मङ्गलबार दिउँसो नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले उक्त संस्थाका संस्थापक अध्यक्ष अच्युत सामन्तसँग समेत कुराकानी गर्नुभएको थियो । साथै, उडिसा राज्य सरकारले यस घटनाका सम्बन्धमा उच्चस्तरीय जाँचबुझ समिति समेत गठन गरेको छ । 


 गहिरो समवेदना प्रकट 

यसैबीच परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै  भनेको छ, ‘‘यही २०२५ फेब्रुअरी १६ को बेलुका भारतको उडिसा राज्यस्थित क्लिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’’

त्यस अकल्पनीय घटना पश्चात् सिर्जित समस्या समाधानका लागि यस मन्त्रालयले निरन्तर पहल र समन्वय गरिरहेको छ। सो घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारत सरकार, उडिसा राज्यको मुख्य मन्त्रीको कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी समस्या समाधानका लागि पहल गरिरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । 

उक्त शैक्षिक संस्थाले नेपाली विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति क्षमायाचना गर्दै त्यस्तो दुर्व्यवहार गर्ने आफ्ना कर्मचारीहरूलाई कारबाही गरेको जानकारी दिएको छ । 

साथै, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रावासमा फर्कन र अध्ययनलाई निरन्तरता दिनसमेत अनुरोध गरेको छ । प्रकृति लम्सालको मृत्युसँग जोडिएका एकजना व्यक्तिलाई पक्राउ गरिएको र स्थानीय प्रहरीले मृत्युको अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । मृत्युको निष्पक्ष छानवीन भई दोषीमाथि कानून अनुसारको कारवाही हुने विश्वास पनि मन्त्रालयले गरेको छ । 

उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता र अध्ययनको निरन्तरताका लागि थप समन्वय गर्न नेपाली राजदूतावास, नयाँ दिल्लीबाट दुईजना प्रतिनिधिहरू घटनास्थल पुगी स्थानीय निकाय, उक्त शैक्षिक संस्था र नेपाली विद्यार्थीहरूसँग सम्पर्क तथा समन्वय गरिरहनुभएको छ। साथै, नेपाली राजदूतावास, नयाँ दिल्लीले आवश्यक पर्ने विद्यार्थीका लागि परामर्शको व्यवस्था पनि मिलाएको छ ।

मन्त्रालयले यस घटनाको समाधानका लागि सहयोग गर्ने भारत सरकार, उडिसा राज्य सरकार तथा सम्बन्धित निकायहरूलाई धन्यवाद ज्ञापन गर्दै यस घटनाबाट प्रत्यक्ष रूपमा प्रभावित हुनुभएका विद्यार्थी, परिवारजन र सरोकारवाला सबैमा धैर्य धारण गरिदिनुहुन अनुरोध गरेको छ ।