• १३ साउन २०८१, आइतबार

प्रदूषणले टौदहका माछा मर्न थाले

blog

प्रदूषणले टौदहका मरेका माछा, तस्विर–उपेश महर्जन

कीर्तिपुर, जेठ १५ गते । कीर्तिपुरस्थित टौदह (तःपुखु) मा छोडिएका विभिन्न प्रकारका माछा मर्न थालेका छन् । वर्षामा परेको पानीमा मिसिएको रासायनिक युरिया मल र नजिकै खोलिएका पार्टी प्यालेस र रेष्टुरेन्टबाट आउने रसायनयुक्त फोहाेर पानीका कारण माछा मर्न थालेको स्थानीयवासी बताउँछन् ।

फोहर र दुर्गन्धित पानी सिधै टौदहमा मिसाइएकाले यस्तो समस्या आइपरेको हो । माछा मर्न थालेपछि पानीलाई अहिले डाइभर्ट गरी पोखरीमा मिसिन नदिएर खोल्सामा फालिएको छ ।

सो टौदहमा हिन्दु र बौद्ध धर्मग्रन्थ अनुसार काठमाडौं उपत्यकामा रहेको पानी मञ्जुश्रीले आफ्नो खड्गबाट चोभारको गल्छी काटेपछि मैदान बनेको थियो र, त्यहाँ बसोबास गर्न असमर्थ भएपछि टौदहमा कर्काेटक नागलाई स्थानान्तरण गरिएको भनाइ छ । 


सो पोखरीमा बौद्ध धर्मका पद्मसम्भव गुरु दक्षिणकालीको शेषनारायणमा ध्यान गरेर चीन (तिब्बत) तिर धर्म प्रचार गर्ने क्रममा स्नान गरेको पाइन्छ । यही कारणले बौद्ध भिक्षुहरुले यस टौदहमा विभिन्न प्रकारका माछा छाड्ने प्रचलन छ ।

स्थानीय देव खड्का अनुसार, भाँडा माझ्ने रासायनिक झोल, शौचालयको फोहाेरको कारणले माछालगायत जलचलहरु मर्न थालेको बताउनुभयो । रसायनयुक्त फोहर पानी टौदहमा सिधै फ्याँकिएकाले पनि माछा धमाधम मारिएका हुन् । 

विगतमा प्राकृतिक वासस्थानका कारणले टौदह आसपासमा रुसको साइबेरियादेखि घुमन्ते चारचुरुङ्गी चिसो छल्न र आहाराको खोजीमा आउने गर्दथे । 


सो क्षेत्रमा पार्टी प्यालेस र रेस्टुरेन्टसहित व्यापारिक प्रयोजनमा पिकनिक स्पटलगायतका भौतिक संरचनाले ती घुमन्ते चराचुरुङ्गीको वासस्थानमा समस्या पैदा भएको हो । ती क्षेत्रमा अहिले अति कम घुमन्ते चराचुरुङ्गी देख्न पाइन्छ ।

फोहाेर दुर्गन्धित पानीको असर ती घुमन्ते चारचुरुङ्गीलाई पनि परेको स्थानीय ज्ञानेन्द्र महर्जन बताउनुहुन्छ ।