घोराही समाचारदाता
घोराही, फागुन ६ गते । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको छ महिनामा साना उद्योग तथा वाणिज्य फर्मको साढे आठ अर्ब लगानी थपिएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले तयार पारेको अर्धवार्षिक विवरण अनुसार लुम्बिनीका १२ जिल्लामा आठ अर्ब ४९ करोड नौ लाख नौ हजार ५४४ रुपियाँ लगानी थप भएको हो ।
वाणिज्य फर्मभन्दा साना उद्योगमा बढी लगानी थप भएको छ । उद्योगतर्फ चार अर्ब ५६ करोड १७ लाख ६२ हजार ६६७ रुपियाँ र वाणिज्यतर्फ तीन अर्र्ब ९२ करोड ९१ लाख ४६ हजार ८७७ रुपियाँ लगानी थपिएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिनुभयो ।
सूचना अधिकारी सुवेदीका अनुसार रुपन्देहीमा उद्योगतर्फ एक अर्ब ४० करोड ९६ लाख ७१ हजार ३७७ र वाणिज्यतर्फ एक अर्ब १६ करोड ४६ लाख ९९ हजार ७७७ रुपियाँ लगानी थप भएको छ । बाँकेमा छ महिनाको अवधिमा उद्योगतर्फ ८१ करोड ६५ लाख ७५ हजार र वाणिज्य फर्ममा ५७ करोड ९५ लाख ८१ हजार, नवलपरासी पश्चिममा उद्योगतर्फ ५० करोड ५२ लाख र वाणिज्यतर्फ ४१ लाख ७३ हजार, कपिलवस्तुमा उद्योगतर्फ ५७ करोड २० लाख ६० हजार र वाणिज्य फर्ममा ४१ करोड ७३ लाख, दाङमा उद्योगतर्फ ४१ करोड २२ लाख ७१ हजार २९० रुपियाँ र वाणिज्य फर्ममा २४ करोड ७५ लाख ५० हजार लगानी थपिएको छ ।
त्यसै गरी पाल्पामा उद्योगतर्फ ३४ करोड ३४ लाख ३५ हजार र वाणिज्य फर्ममा २४ करोड ७५ लाख ५० हजार लगानी थप भएको छ । बर्दियामा उद्योगतर्फ ९५ करोड र वाणिज्यतर्फ १६ करोड लगानी थपिएको छ ।
गुल्मीमा उद्योगतर्फ ८६ करोड र वाणिज्य फर्ममा ५० करोड ७० लाख, अर्घाखाँचीमा उद्योगतर्फ २२ करोड ५२ लाख र वाणिज्य फर्मतर्फ पाँच करोड ४९ लाख, प्युठानमा उद्योगतर्फ दुई करोड ४३ लाख र वाणिज्य फर्ममा चार करोड एक लाख ९५ हजार एक सय, रोल्पामा उद्योगतर्फ तीन करोड २७ लाख ५० हजार र वाणिज्य फर्मतर्फ दुई करोड ६५ लाख २० हजार लगानी छ भने रुकुमपूर्वमा उद्योगतर्फ तीन करोड ९३ लाख र वाणिज्य फर्ममा छ करोड १३ लाख रुपियाँ लगानी थप भएको मन्त्रालयले जनाएको छ ।