• १३ असोज २०८१, आइतबार

हराएकाे विमान खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर सम्भावित क्षेत्रमा

blog

रमेश पौडेल
पोखरा, जेठ १५ गते ।
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ । जहाज खोजीका लागि दुर्घटना आशङ्का रहेको क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर पोखराबाट मुस्ताङ पुगेको छ ।

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ कोबाङ भन्ने क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरले खोजी कार्य जारी रहेको जानकारी स्थानीयवासी निरज थकालीले दिनुभयो ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार मध्यकमाण्ड पोखराका कमाण्डपति उपरथि बाबुराम श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको हेलिकोप्टर म्याग्दीको नार्च्याङ गुम्बा नजिक भर्खरै अवतरण गरेको छ । सो टोली सर्च अभियान थालनी गर्ने जनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थल तथा हवाईमार्गबाट खोजीकार्य जारी रहेको जानकारी दिनुभयो । स्थानीयले समेत खोजीमा सहयोग गरिरहेका छन् । उहाँका अनुसार जोमसोमबाट उडेका हेलिकोप्टरसमेत मौसम प्रतिकूल भएकाले पटक–पटक फर्किएर पुनः जोमसोम विमानस्थलमै ल्याण्ड हुने गरेका छन् ।

जोमसोम विमानस्थलबाट फिस्टेल एयरको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण केही समय अघि फर्केको थियो । फेरि उड्ने तयारीमा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

यता, पोखरा विमानस्थलमा जहाजका यात्रु तथा चालक दलका सदस्यको आफन्तको रुवावासी चलेको छ । पोखराको मौसम पनि प्रतिकूल भएकोले खोजीकार्य सुरक्षा निकायले अपेक्षा गरे अनुरूप अगाडि बढाउन सकेको छैन ।