सन्तोष दहित
दाङ, फागुन ५ गते । मुक्त कमलहरीहरूले सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । एमालेले दाङले आयोजना गरेको जनसभा कार्यक्रमस्थल पुगेर ध्यानाकर्षण गराएका हुन् ।
पूर्व सांसद शान्ता चौधरी, मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्ष हिरामोती चौधरीसहितको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो । मञ्चकी अध्यक्ष चौधरीका अनुसार मुक्त कमलहरीका पुनर्स्थापना, परिचयपत्र, उच्च तथा प्राविधिक शिक्षा र अभिभावक बिहीन तथा जग्गा जमिन नभएका मुक्त कमलहरीलाई जमिन उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले मुक्त कमलरी, कमैया तथा भूमहिनहरूको मागलाई सम्बोधनका लागि गम्भीर भएको बताउनुभयो । त्यसका लागि आयोग गठन गरेर कामलाई अगाडि बढाइसकेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको थियो ।