जनार्जन खत्री
सर्लाही, फागुन ५ गते । सर्लाहीको लालबन्दी नगरपालिका–७, डाँडाटोलमा सोमबार एक भैँसी फार्ममा आगलागी हुँदा पाँच बिघाको पराल जलेर नष्ट भएको छ ।
डाँडाटोलका लेखराम जर्गा मगर (अर्जुन) ले सञ्चालन गरेको भैँसी फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट करिब पाँच बिघाको पराल जलेर नष्ट भएको पीडितले बताएका छन् ।
भैँसीलाई खुवाउनका लागि किनेर राखिएको २१÷२२ बिघाको ४ वटा परालको टालमध्ये एउटा टालको पराल जलेर नष्ट भएको हो । अन्य तीन वटा परालको टालमा भने आगोले भेट्न पाएन ।
आगलागी हरिवन र मलङ्गवा नगरपालिकाबाट आएका दुुई वटा दमकल, जेसिभी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दा भएर नियन्त्रणमा लिएको लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बताउनुुभयो । पराल भित्रभित्रै आगो सल्किएकाले नियन्त्रणमा लिन करिब चार घण्टा लाग्यो ।
सोमबार दिउँसो साँढे १ बजेपछि सुरु भएको आगलागी साँझ साँढे ५ बजेतिर मात्रै पूर्णरूपमा नियन्त्रणमा आएको स्थानीय प्रकाश पोखरेलले बताउनुुभयो । आगलागीमा परेर एउटा लैनो भैँसी समेत जलेर घाइते भएको छ ।
घाइते भैँसीलाई फार्ममै नगरपालिकाका पशु चिकित्सक बोलाएर उपचार गरिएको वडाध्यक्ष कार्कीले बताउनुुभयो । उहाँका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट करिब दुुई लाख रुपियाँ बराबरको क्षति भएको छ ।