• १४ वैशाख २०८२, आइतबार

वन पैदावारबाट सात करोडभन्दा बढी राजस्व सङ्कलन

blog

सामुदायिक वनमा काटेर सङ्कलन गरिएको काठ । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन ५ गते । दाङमा चालु आर्थिक वर्षको छ महिनामा वन पैदावारबाट साढे सात करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालय घोराही र देउखुरीबाट छ महिनामा वन पैदावारबाट सात करोड ६२ लाख ८१ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो ।

डिभिजन वन कार्यालय घोराहीबाट चार करोड ६३ लाख ५० हजार र डिभिजन वन कार्यालय देउखुरीबाट दुई करोड ९९ लाख ३१ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालय घोराही अन्तर्गत सरकारद्वारा व्यवस्थित वनबाट १७ हजार नौ सय ८३.२६ घनफिट काठ र ७३.२ चट्टा दाउरा निजी आवादी वनबाट सङ्कलन भएको छ । गैरकाष्ठ वन पैदावारतर्फ ६ महिनामा एक लाख ४८ हजार तीन सय ६१ केजी जडीबुटी सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी टेकनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार ५३ हजार नौ सय ७३, सरकारद्वारा व्यवस्थित वनमा छ हजार सात सय ३१.१ र बेवारिसे तथा दरिया बर्दी काठ दुई हजार पाँच सय ७६.१ घनफिट छ ।

डिभिजन वन कार्यालय देउखुरीअन्तर्गतका सामुदायिक वनबाट अल्या काठ ८० हजार छ सय ३२.२३ घनफिट, दाउरा चार सय ७७ चट्टा छ । त्यसैगरी चालु आर्थिक वर्षको छ महिनामा सामुदायिक वनबाट ३९ हजार छ सय ३४ घनफिट काठ र एक सय ३८.७५ चट्टा दाउरा बिक्री गरेको डिभिजन वन कार्यालय देउखुरीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार उपभोक्ता समुहको कोषमा एक करोड ८१ लाख, प्रदेश सञ्चित कोषमा ६१ लाख १९ हजार, मूल्य अभिवृद्धि कर ४० लाख १४ हजार र अग्रिम आयकर चार लाख ५८ हजार जम्मा भएको छ । निजी आवादी वनबाट काठ बिक्रीवापत प्रदेश सञ्चित कोषमा १० हजार रुपियाँ जम्मा भएको छ। 

दाउरा बिक्री वितरणबाट उपभोक्ता समूहको कोषमा छ लाख ९१ हजार, प्रदेश सञ्चित कोषमा एक लाख ९५ हजार, मूल्य अभिवृद्धि कर एक लाख ९१ हजार र अग्रिम आयकर ३३ हजार जम्मा भएको छ। निजी आवादीतर्फ प्रदेश सञ्चित कोषमा १० हजार, मूल्य अभिवृद्धि कर ७४ हजार र अग्रिम आयकर आठ हजार रुपियाँ छ । 

डिभिजन वन कार्यालय घोराहीअन्तर्गत सामुदायिक वनबाट ४७ हजार चार हजार २.७७, सरकारद्वारा व्यवस्थित वनबाट पाँच हजार दुई सय ७१.६, निजी आवादीबाट १७ हजार नौ सय ९३.२६ र बेवारिसे तथा दरिया बर्दी काठ दुई हजार पाँच सय ४१.६१ घनफिट बिक्री भएको छ । काठबाट उपभोक्ता समूहको कोेषमा दुई करोड ४६ लाख ७५ हजार, प्रदेश सञ्चित कोषमा ७१ लाख ४० हजार, मूल्य अभिवृद्धि कर ४८ लाख ८६ हजार रुपियाँ र अग्रिम आयकर पाँच लाख रुपियाँ जम्मा भएको छ । 

सरकारद्वारा व्यवस्थित वनबाट काठ बिक्रीवापत सङ्घीय सञ्चित कोषमा ३१ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर चार लाख ५६ हजार र अग्रिम आयकर ४७ हजार रुपियाँ जम्मा भएको छ ।