• ८ वैशाख २०८२, सोमबार

अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणले मर्न थाले बङ्गुर

blog

गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट मरेको बङ्गुर परीक्षण गर्दै पशु चिकित्सक । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, माघ ५ गते ।
गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट बङ्गुर मर्न थालेका छन् । गोरखा नगरपालिकाको दुई वटा वडा ६ र ७ मा करिब ६ वटा बङ्गुर मरिसकेको गोरखा नगरपालिकाका पशुशाखा प्रमुख डा. सुबास बेलबासेले जानकारी दिनुभयो ।

‘‘बङ्गुर पालक किसानहरूले ६ वटा बङ्गुर मरेको खबर गर्नुभयो ।,’’ डा. बेलबासेले भन्नुभयो, “हामीले आरडिटी टेस्ट गर्दा अफ्रिकन स्वाइन फिभरसँग मिल्दो जुल्दो लक्षण देखिएपछि अफ्रिकन स्वाइन फिभर हो होइन भन्ने पुष्टि गर्न पिसिआर परीक्षण गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय गरेर काठमाडौँ वा पोखरा कहाँ पठाउने सल्लाह गर्छौ ।”

गोरखा नगरपालिका– ६ र ७ मा धेरै किसानहरूले पालेको बङ्गुरमा ज्वरो आउने, शरीरमा डाम पर्ने, शास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि विशेष सावधानी अपनाउन फर्म सञ्चालक तथा किसानलाई आग्रह गरिएको भेटनरी अस्पताल तथा पशु विज्ञ कार्यालय गोरखाका निर्मित प्रमुख डा. विनिता कुवँरले बताउनुभयो ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय गोरखाले एक सूचना जारी गर्दै ११ वटै पालिकाहरूलाई सचेत रहन आग्रह गरेको छ । यो रोग सुँगर, बङ्गुर र बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलने रोग हो ।

नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । यो रोगको सङ्क्रमणबाट बच्न किसानहरूलाई फर्ममा जौविक सुरक्षाका विधिहरू अवलम्बन गर्न केन्द्रले आग्रह गर्दै आएको छ ।

बङ्गुर पालिएको फर्म वरिपरि नियमित सरसफाई गर्ने र सङ्क्रमण नहुने औषधीहरू प्रयोग गर्नाले सङ्क्रमणबाट बच्न सकिने केन्द्रले जनाएको छ । रोग लागेका शङ्का लागेमा हुलबाट एक्लो बनाएर छुट्टै राख्ने, मरेका बङ्गुर जतिलाई राम्रोसँग खाल्डो खनी गाड्नेलगायतका सचेतना अपनाउन आग्रह गरिएको छ ।

यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने कान पुच्छर र पेटको तल्लो भाग रातो हुने शरीरमा निलो धब्बा देखिने, खाना नखाने वान्ता हुने लक्षण देखा परेमा बङ्गुर मर्ने गरेको पाइएको छ । केन्द्रले रोग देखा परेको ठाउँबाट सुँगर बङ्गुरमा सङ्क्रमित दाना र मासु ओसार पोसार नगर्ने दाना बाहेक अन्य खानेकुरा पकाएर मात्र खाना कार्यालयले सबै जिल्लावासी किसानहरूलाई अपिल गरेको छ । 

यो रोगलाई बेलैमा पहिचान गरेमा तत्कालै निराकरण हुने सुँगुर र बङ्गुरलाई त्यस रोगबाट जोगाउन सकिने निर्मित कार्यालय प्रमुख कुवँरको भनाइ छ ।