गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा सामाजिक सञ्जालमा आएको भ्रमपूर्ण र गलत सूचनाप्रति सचेत रहन आमयुवालाई आग्रह गरेको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले दक्षिण कोरियामा मौसमी श्रमिक पठाउन थालेको भन्ने गलत सूचना फैलाएर युवालाई भ्रमित गर्ने काम गरेकाले त्यस्ता सूचनाका विषयमा सचेत रहन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ, “श्रम मन्त्रालयको लेटरहेड र छाप प्रयोग गरी मन्त्रालयले निकाल्ने सूचनाकै शैलीमा कोरियामा मौसमी श्रमिक पठाउन सुरु भनेर गलत विषय सामाजिक सञ्जालमा पोस्ट गरिएको र त्यसलाई सेयर गरेर हेर्नेको सङ्ख्या अत्यधिक देखिन्छ । त्यसैले त्यस्ता गलत सूचनाको विश्वास गर्दा ठगीमा पर्न सकिन्छ, सचेत हौँ ।”
मन्त्रालयका अनुसार मौसमी श्रमिक पठाउँदा भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नुपर्ने छ । मन्त्रालयले मौसमी श्रमिक पठाउने विषयमा कुनै निर्णय नभएको र सूचनासमेत आह्वान नभएको स्पष्ट पारेको छ । साथै मन्त्रालयको लेटरहेड र छाप दुरुपयोग गरी गलत सूचना प्रचार गर्नेको कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।