• ८ फागुन २०८१, बिहिबार

जिरा र खाने तेलको मूल्य घट्यो

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन ५ गते  । पछिल्लो चार/पाँच महिनामा जिरा र खानेतेलको मूल्य घटेको छ । गत असोज र कात्तिकमा प्रतिकेजी आठ सय रुपियाँमा कारोबार भएको गेडा जिरा २५० रुपियाँसम्म कममा कारोबार भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ ।  

सो अवधिमा प्रतिकेजी एक हजार एक सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा दुई सय रुपियाँ घटेर नौ सय रुपियाँमा कारोबार भएको सङ्घले जनाएको छ । 

त्यस्तै यस अवधिमा सन फ्लावर तेल प्रतिलिटर मूल्य १० रुपियाँ घटेको छ । सङ्घका अनुसार सो अवधिमा बजारमा सन फ्लावर तेल प्रतिलिटर मूल्य २५५ रुपियाँमा बिक्री भइरहेको थियो भने फागुन १ गते आइपुग्दा प्रतिलिटर २४५ रुपियाँमा बिक्री भइरहेको छ । त्यस्तै भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपियाँ, काँचो तोरीको तेल २४५ देखि ३२५ रुपियाँ र भटमासको तेल २५० रुपियाँमा कारोबार भएको थियो । यस्तै सो अवधिमा कालो भटमासको मूल्य १० प्रतिकेजी रुपियाँले घटेर २५० रुपियाँ भएको छ । ज्वानोको मूल्य प्रतिकेजी ५० घटेर ४५० रुपियाँ कायम भएको छ । 

गत असोज/कात्तिकमा २६० रुपियाँ प्रतिकेजी कारोबार भएको काँचो बदामको मूल्य दुई सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको सङ्घले जनाएको छ ।