गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ५ गते । हेमोफेलिया रोग (रगत बगिरहने वंशाणुगत समस्या) का बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफेलिया महासङ्घबिच सम्झौता भएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको थियो । अत्यधिक महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि औषधी व्यवस्था गरिदिन धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले महासङ्घलाई आग्रह गर्दै आएको थियो ।
अब महासङ्घबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने हेमोफेलिया रोगको उपचारका लागि आवश्यक औषधी स्वास्थ्य मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालबाट उपलब्ध गराउने छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफेलिया महासङ्घबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।