• २८ फागुन २०८१, बुधबार

उपप्रधानमन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्थामा सुधार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अवस्था सामान्य रहेको छ । पोखरा भ्रमण वर्ष–२०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते हुनुभएका पौडेल र आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको कीर्तिपुर बर्न अस्पतालले जानकारी दिएको छ । 

डा. शङ्करमान राईले दिनुभएको जानकरी अनुसार उपप्रधानमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई आइसियुमा राखेर उपचार गरिएको छ । डा. राईले भन्नुभयो, “४८ घण्टा आइसियुमा राखेर निगरानी गर्नुपर्ने हुन्छ ।” उहाँले पौडेलको अनुहार जलेको हुनाले श्वासनलीमा असर गरेको छ कि भनेर ४८ घण्टा आइसियुमा राखिने बताउनुभयो । उहाँले पाँच/छ प्रतिशत भाग जलेको भन्दै ४८ घण्टापछि सामान्य वार्डमा सारिने बताउनुभयो । डा. राईका अनुसार उपप्रधानमन्त्री र नगरप्रमुखलाई भेट्नका लागि मानिसको भिड लाग्ने गरेकाले भेटघाट भने बन्द गरिएको छ । 

अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार पौडेल र आचार्यको उपचारका लागि प्राडा बिडी झा, डा. प्रवीण गिरीलगायतका सघन उपचार कक्षको एउटा टोलीका साथै प्राडा शङ्करमान राई, डा. विशाल कार्की, डा. मनिष यादवलगायतको जलन विशेषज्ञहरूको टोली खटिएको छ ।

यस्तै डा. प्रयुस अर्याललगायतका आकस्मिक उपचार टोली, रिता गौचन, निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ टोली पनि उपचारमा खटिनुभएको छ । यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

राष्ट्रपति आइतबार बिहान कीर्तिपुर अस्पतालमा जानुभई पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अस्पतालका कार्यकारी निर्देशक राईले बताउनुभयो । राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको थियो । 

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर बर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली प्रथम महिला राधिका शाक्यसहित अस्पताल पुग्नुभएको हो । 

उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उहाँहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको

जनाइएको छ । यसै गरी प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित सानदार मम सेन्टरमा ग्यास सिलिन्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।