• १३ फागुन २०८१, मङ्गलबार

धनुषामा काठ तस्करी नियन्त्रणमा कडाइ

blog

धनुषा वन प्रशासनले नियन्त्रणमा लिएको अवैध काठ । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, फागुन ४ गते । धनुषामा चुरे तथा भावर क्षेत्रका वनजङ्गलबाट हुने काठ चोरी तथा तस्करीलाई नियन्त्रण गर्न वन प्रशासनले निगरानी थप कडा पारेको छ । डिभिजन वन कार्यालय धनुषाले चौबिसै घण्टा सवारी तथा पैदल गस्ती परिचालन गर्दै अवैध काठ ओसारपसार रोक्ने अभियानलाई तीव्रता दिएको हो । 

डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले काठ तस्करी रोक्न चोरबाटो तथा भित्री वन क्षेत्रसम्म गस्ती टोली परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको सात महिनाभित्र जिल्लाका विभिन्न स्थानबाट चार सय छ क्युफिटभन्दा बढी विभिन्न प्रजातिका अवैध काठ बरामद गरिएको छ । साथै, काठ चोरीमा संलग्न रहेको आरोपमा २१ जना पक्राउ परेका छन् जसमध्ये आठ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

यसैगरी, अवैध काठ ओसारपसारमा प्रयोग भएका विभिन्न साधनहरू पनि नियन्त्रणमा लिइएका छन् । वन कार्यालयले हालसम्म एक थान पिकअप, दुई थान मोटरसाइकल, दुई थान ट्याक्टर, र छ वटा साइकल बरामद गरिसकेको उहाँले जानकारी दिनुभयो । गस्ती तथा सुराकीको आधारमा चिसापानी, धनुषाधाम, भरतपुरलगायतका स्थानबाट ठुलो परिमाणमा सालको काठ बरामद गरिएको डिभिजनल प्रमुख सिंहको भनाइ छ । 

पछिल्लो समयमा धनुषाधाम नगरपालिका–१ मा प्रमोद ठाकुरको स्वामित्वमा रहेको सःमिल मिलबाट ठुलो मात्रामा अवैध सालको काठ बरामद गरेको छ । सो मिलबाट १३९ क्यू फिट साल प्रजातिको काठ र एक थान काठ काट्ने कटर मेसिन बरामद गरिएको छ । यस प्रकारका अभियानले वन अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकाे डिभिजन प्रमुख सिंह बताउनुहुन्छ । 

उहाँका अनुसार वन तस्करी नियन्त्रण तथा संरक्षणका लागि सबै सरोकारवालाबिच समन्वय गर्दै वन प्रशासन अगाडि बढिरहेको छ । उहाँले आफू डिभिजनल वन प्रमुखका रूपमा धनुषा आएदेखि नै काठ तस्करी शून्यमा झार्ने रणनीतिसहित कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । 

कार्यालय अन्तर्गत रहेका लालगढ, पुष्पवलपुर, भरतपुर, र चिसापानी सब–डिभिजन वन कार्यालयका कर्मचारीलाई थप सक्रिय भई वन सुरक्षामा जुट्न निर्देशन दिइएको छ । वन संरक्षण अभियानलाई प्रभावकारी बनाउन स्थानीय समुदायको पनि सहयोग आवश्यक रहेको वन उहाँको भनाइ छ । वन सम्पत्तिको दोहन रोक्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै  प्रमुख सिंहले वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि निरन्तर प्रयास गरिने बताउनुभयो ।