• ८ फागुन २०८१, बिहिबार

श्रीमहल उत्खननमा जनशक्ति अभाव

blog

श्रीमहलको भग्नावशेष उत्खनन गरिँदै । तस्बिर सौजन्य : राजेश परियार

गोकर्ण दयाल 

बैतडी, फागुन ४ गते ।  पुरातत्व विभागले सुरु गरेको श्रीमहलको भग्नावशेष उत्खननको काम दक्ष जनशक्तिको अभावमा सुस्त गतिमा छ । दार्चुलाको उकु उपत्यकामा रहेको श्रीमहल उत्खननको काम एक वर्षअघि नै सुरु भए पनि काम सम्पन्न हुन अझै दुई वर्ष लाग्ने बताइएको छ ।  

उत्खननका क्रममा यहाँ ठुलो सङ्ख्यामा कलात्मक शिला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्ध भाग, ढुङ्गेधारा, बसाहा, सिंहलगायत थरी थरीका आकृति भएका वस्तुका अवयव भेटिएका छन् । यसअघि यहाँ १५ औँ शताब्दीको शिलालेखसमेत भेटिएको थियो । 

मालिकार्जुन गाउँपालिका–६, उकु उपत्यकाको करिब एक बिघा क्षेत्रफलमा श्रीमहलको भग्नावशेष छ । भारतबाट बगेर आउने गोरी नदी र नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको सङ्गम स्थल जोलजिबी बजारबाट चार किलोमिटर दक्षिण महाकाली नदीछेउको बायाँ किनारमा श्रीमहल रहेको छ । यो ठाउँ समुद्री सतहदेखि ७२५ मिटरको उचाइमा छ ।   

स्थानीयवासीले श्रीमहललाई पाल वा बम राजाको महल भने पनि यसको जग र छरपस्ट रहेका ढुङ्गाको आकृति हेर्दा मन्दिर भएको अनुमान गरिएको छ । शिखर वास्तु शैलीको जग र ढुङ्गा भेटिएकाले यो राजा बस्ने महलभन्दा पनि मन्दिर नै भएको वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताउनुभयो । उहाँले श्रीमहल उत्खनन र पुनर्निर्माण गर्ने गरी गत वर्षदेखि काम भइरहेको बताउनुभयो । 

“हामी यहाँ एक वर्षदेखि काम गरिरहेका छौँ, वर्षमा एक महिना मात्रै काम गर्ने समय तालिका अनुसार उत्खननको काम भइरहेको छ । उत्खननको काम निकै संवेदशील भएकाले विज्ञ जनशक्तिले मात्रै काम गर्नुपर्ने हुन्छ । त्यसैले अझै दुई वर्ष अरू समय लाग्छ,” उहाँले भन्नुभयो । 

उत्खननको काम निकै संवेदनशील भएकाले ढुङ्गा सफा र नापजाँच गरेर मात्रै ढुङ्गा छेउ लगाउने काम भइरहेको उहाँले बताउनुभयो । यहाँ भेटिएका ढुङ्गाको बनावट र आकृति अनुसार श्रीमहलको स्वरूप कस्तो थियो ? भन्ने कुरा प्राविधिकले पत्ता लगाउने उहाँले दाबी गर्नुभयो । अहिले यहाँ तीन जना विज्ञले महत्वपूर्ण समय दिएर उत्खननको काम गरिरहेको पुरातत्व अधिकृत हरिप्रसाद भुसालले बताउनुभयो । 

श्रीमहलका ढुङ्गाको संरक्षण गर्न मालिकार्जुन गाउँपालिकाले आव. २०७६/७७ मा ८० लाख रुपियाँ खर्च गरेर तीन सय मिटर क्षेत्रफलमा घेरा पर्खाल लगाएको गाउँपालिका अध्यक्ष हीरासिंह धामीले बताउनुभयो । उहाँले पुरातात्त्विक स्थलमा भेटिएका शिलालेखमा स्पष्ट अक्षर नभेटिए पनि १५ औँ शताब्दीको मिति उल्लेख गरिएका शिला भेटिएको बताउनुभयो । अध्ययन अनुसन्धान जारी रहेकाले थप तथ्य उजागर हुने उहाँको विश्वास छ । 

श्रीमहललाई स्थानीय बासिन्दाले श्रीमहल–मालिकार्जुन पनि भन्ने गर्दछन् । पुरातात्त्विक महत्व बोकेको श्रीमहलसँग सम्बन्धित विभिन्न विषय लिखित तथा अलिखित रूपमा नेपाल तथा भारतका इतिहासकारहरूले बताउने गरेको गाउँपालिकाका अध्यक्ष धामीले बताउनुभयो । 

उहाँले चौधौँ/पन्ध्रौँ शताब्दीतिर उत्तराखण्डको पहाडी उपत्यका पिथौरागढलाई नियन्त्रणमा लिन बैतडीका बमहरू, उकुका पाल र चम्पावतका चन्दहरूको बिचमा टक्कर पर्ने गरेको बद्रीदत्त पाण्डेले लेख्नुभएको ‘कुमाउको इतिहास’ मा उल्लेख भएकाले त्यतिबेला नै उकु एउटा महत्वपूर्ण प्रशासनिक केन्द्रका रूपमा रहेको बताउनुभयो  । 

स्थानीय तहमा मालिकार्जुन गाउँपालिकाले श्रीमहल र योसँग जोडिएका धार्मिक विषयको अध्ययन गर्न पहल गर्दै आएको छ । यस पुरातात्त्विक सम्पदाको अध्ययनका लागि योगी नरहरिनाथ, नवराज अधिकारी, प्रकाश खड्का र भास्कर ज्ञवालीलगायतका विज्ञ टोलीले अध्ययन सकेको गाउँपालिकाले जनाएको छ । 

श्रीमहलको पहिलो पटक अध्ययन गर्ने व्यक्ति योगी नरहरिनाथ रहेको स्थानीय बताउँछन् । उहाँको ‘सन्धिपत्र सङ्ग्रह’ भन्ने पुस्तकमा यसबारेका केही तथ्य उल्लेख गरेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो, जसमा नागपाल राजाले आफ्ना रानीहरूको सुन्दरताको विषयमा बखान गरेका कुरा उल्लेख गरिएको छ ।