अनिल पराजुली
हेटौँडा, फागुन ३ गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानले जनतामा सकारात्मक सन्देश गएको बताउनुभएको छ। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता, नव निर्मित सहिद स्मृति रङ्गशालाको उद्घाटन कार्यक्रमका क्रममा माओवादी केन्द्र बागमती गाउँ कमिटीको आयोजनामा भएको कार्यकर्ता भेटघाटलाई शनिवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
अध्यक्ष प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा नागरिक प्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको बताउँदै माओवादी प्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने सङ्कल्पका कारण भ्रष्टाचार विरुद्धका अभियानहरू सञ्चालन गरिएको उहाँको भनाइ छ। सामाजिक सुरक्षा कोष, नागरिकताको समस्या समाधान र आर्थिक सुधारका लागि माओवादी सरकारमा हुँदा धेरै काम गरेकाले माओवादीप्रती जनताको विश्वास बढेको उहाँले दाबी गर्नुभएको छ।
आम नागरिकमा माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको दाबी गर्दै देश र जनताप्रति इमानदार माओवादी नै परिवर्तनको संवाहक भएको उहाँले धारणा राख्नुभयो। बिचौलिया र भुमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरूमा थोरै आशा पलाएको उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसंग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो।
माओवादीले राम्रो काम गर्न खोज्दा खोज्दै सरकारबाट बाहिर जान बाध्य पारिएको जिकिर गर्दै उहाँले जनताको एकताको तागत देखाउने बेला आएको बताउनुभयो। सबै वर्ग र समुदायसँग मिलेर जनताको पक्षमा काम गर्न उहाँले आम कार्यकर्तालाई पनि निर्देशन दिनुभयो। सोही कार्यक्रममा अन्य पार्टी परित्यागगरि एक दर्जन बढी माओवादी केन्द्रमा प्रवेश समेत गर्नुभएको थियो।