अनिल पराजुली
हेटौँडा, फागुन ३ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ ।
उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १–० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको हो । बागमतीका तर्फबाट कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३औँ मिनेटमा गर्नुभएको गोल नै निर्णायक गोल भएको थियो ।
खेलको म्यान अफ द म्याच घिसिङ घोषित हुनुभयो । प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका तीन टिमको सहभागिता रहेको छ । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपियाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह, प्रदेश सभा सदस्यहरू प्रेम बहादुर पुलामी, कुमारी मोक्तान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान लगायतको उपस्थिति रहेको थियो ।