माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन ३ गते । ६ पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै २४औँ आहा–रारा पोखरा गोल्डकपको उपाधि पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।
पोखरा रङ्गशालामा शनिबार भएको फाइनलमा पुलिसलाई ३–१ गोलले हराउँदै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि चुम्न सफल भएको छ ।
ब्ल्याक बुल्सको जितमा जाकोन्गिर अक्माडोभले ४०औँ, असिलबेक ओरिफजोनोभले ५९औँ र सभ्कात्जोन सत्तारोभले ६६औँ मिनेटमा गोल गर्नुभयो । पुलिसका लागि शीशिर चौधरीले ७४औँ मिनेटमा सान्त्वना गोल फर्काउनु भएको थियो ।
उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख एक हजार रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिस क्लबले ६ लाख एक हजार रुपियाँमा चित्त बुझायो । प्रतियोगितामा विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो ।