• ४ फागुन २०८१, आइतबार

दुर्गममा टेलिकमको सेवा विस्तार, स्थानीय खुसी

blog

बोमलाल गिरी

नवलपुर, फागुन ३ गते । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका ५ का विभिन्न दुर्गम बस्तीमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । टेलिकमको टावर सञ्चालनमा आएपछि लामो समयदेखि मोबाइल तथा इन्टरनेट सेवाबाट वञ्चित स्थानीय खुसी भएका छन्। 

विनयी त्रिवेणीका लाले, बाह्रबिसे, चिडिया, तिनदुमै, खाप्चा, खुम्बारी, कुसुण्डे, सपाङ्दी, गौरीझोक देउराली तथा साविक धुर्कोट क्षेत्रका बासिन्दा अब आधुनिक सञ्चार सुविधाबाट लाभान्वित हुने भएका छन् । लामो प्रतिक्षापछि स्थानीयले दूरसञ्चार सेवाको सहज पहुँच पाउने भएका छन् ।

दूरसञ्चार सेवा अभावका कारण दैनिक जीवनमा विभिन्न कठिनाइ झेल्दैआएका यहाँका बासिन्दाले अब सहज रूपमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा उपयोग गर्न सक्ने स्थानीय रमेश धरेलले बताउनुभयो। 

अर्का स्थानीय दीपक जिसीका अनुसार, सञ्चारसेवाको अभावले विद्यार्थी, व्यावसायी, स्वास्थ्यकर्मी तथा सरकारी निकायलाई समस्या थियो। अब केही सहज हुने भयो, जिसीले खुसी व्यक्त गर्दै भन्नुभयो, “नयाँ टावर सञ्चालनमा आएसँगै यस क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सहज रूपमा उपलब्ध हुने भएको छ।” सञ्चार सुविधाको विस्तारले विशेषगरी स्वास्थ्य आपत्कालीन सेवा, विपद् व्यवस्थापन तथा सरकारी सेवा प्रवाहमा सहजता आउने जिसीको भनाइ छ । 

नवलपुर २ का प्रतिनिधिसभा सदस्य विष्णुकुमार कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा आधारभूत सुविधा विस्तारलाई प्राथमिकता दिँदै सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधार विकासलाई अघि बढाइरहेको बताउनुभयो । “सबै नागरिकलाई सञ्चार सुविधामा पहुँच बनाउने मेरो प्रतिबद्धता छ। अब यहाँका जनताले सहज रूपमा मोबाइल तथा इन्टरनेट सुविधा उपयोग गर्न सक्नेछन्, जसले जनजीवनमा सकारात्मक प्रभाव पार्नेछ” उहाँले भन्नुभयो । सांसद कार्कीका अनुसार आगामी दिनमा प्रविधि र सेवा विस्तार गर्दै फोरजी तथा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराइनेछ। 

साथै, ‘स्मार्ट गाउँ’ को अवधारणा अनुरूप सूचना प्रविधिको उपयोग गर्दै समग्र विकासलाई तीव्रता दिने योजनासमेत रहेको उहाँले  सुनाउनुभयो । स्थानीयले लामो प्रतीक्षापछि सञ्चार सुविधामा भएको प्रगतिले आफ्नो जीवनमा नयाँ सम्भावना र अवसरको ढोका खोल्ने उहाँको विश्वास छ ।