• २६ वैशाख २०८२, शुक्रबार

बाँकेमा ३० हजारभन्दा बढी बालिकाले लगाए एचपिभी खोप लगाए

blog

बाँकेको डुडुवामा खोप लगाउन लाम लागेका बालिकाहरु । तस्विर : सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन ३ गते ।
बाँके जिल्लामा ३० हजारभन्दा बढी बालिकालाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका आठ वटा पालिकामा सुरु गरिएको खोप कार्यक्रम अनुसार १२ दिनमा ३० हजार तीन सय  जना बालिकालाई एचपिभी खोप लगाइएको हो ।

उहाँले जिल्लाका आठवटा पालिकामा लक्षित उमेर समूहका ३६ हजार ९५० बालिकाहरु रहेकोमा ती मध्ये हालसम्म ३० हजार तीन सय जना अर्थात ८० प्रतिशतलाई खोप लगाई सकिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले हालसम्म नेपालगन्ज उपमहानगरपालिकामा नौ हजार नौ जना, कोहलपुरमा छ हजार १२२, खजुरामा पाँच हजार १३७, जानकीमा दुई हजार १७०, राप्ती सोनारीमा दुई हजार ७६२, बैजनाथमा दुई हजार ४९१, डुडुवामा एक हजार ५५१ र नरैनापुरमा एक हजार ११६ जना बालिकालाई एचपिभी खोप लगाइएको बताउनुभयो ।

उहाँले जिल्लाका ३६ हजार ९५० बालिकालाई एचपिभी खोप लगाउने लक्ष्यका साथ माघ २२ गतेबाट खोप अभियान सुरु गरिएको जनाउँदै सो क्रममा जिल्लाका आठ पालिकालाई दुई चरणमा विभाजन गरेर खोप लगाउने कार्य गरिएको बताउनुभयो ।

फागुन ६ गतेसम्म सञ्चालन गरिने सो अभियानअन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका बालिकालाई उक्त खोप लगाउने कार्य जारी रहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पहिलो चरणअन्तर्गत माघ २२ देखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा माघ ३० देखि फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप दिने कार्यक्रम सञ्चालन भइरहेको छ । 

पहिलो चरणको खोप कार्यक्रम अनुसार कोहलपुरमा लक्ष्यको ८३ प्रतिशत र नेपालगन्जमा ८५ प्रतिशतले मात्र खोप लगाएको तथ्याङ्क रहेकोमा सो बारेमा समिक्षा गरेर छुटेकाहरुलाई फेरी पनि लगाउने योजना बनाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।