गोकर्ण पौडेल
तुलसीपुर ,फागुन ३ गते । तुलसीपुर उपमहानगरपालिका –४ खाद्रेमा जङ्गली मौरीले डस्दा पाँच जना घाइते भएका छन् । मौरीले डस्दा बिरामी हुनेमा तुलसीपुर–४ खाद्रे निवासी २३ वर्षीय भिमा बुढा, ११ वर्षीय विवश बुढा, सोही ठाउँकै २८ वर्षीया सिता गिरी, उहाँकी ९ वर्षीया छोरी आयुसा गिरी र ५ वर्षीय छोरा आयुस गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शनिबार दिउँसो १२ बजेको समयमा खेतमा पानी सिँचाइ गर्ने क्रममा ठुलो सङ्ख्यामा जङ्गली भेरीले टोकेको हो । जङ्गली मौरीको टोकाइबाट बिरामी परेका ५ जनामध्ये भिमा बुढा र विवश बुढालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।