• ४ फागुन २०८१, आइतबार

बर्सेनी बगाउँछ कल्भर्ट, पुल नबन्दा सास्ती

blog

सफा खोलामा पुल नहुँदा पानीमा हेलिएर खोला तर्दै स्थानीय । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन ३ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका र हरिपूर्वा नगरपालिकाको सीमामा पर्ने सफा (नख्खा समेत भनिने) नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दैआएका छन् ।   

ब्रह्मपुरी–६, पिपरा र हरिपूर्वा–३, धनकौल गाउँलाई जोड्ने यो खोलामा बर्सेनी ह्युम पाइप र कल्भर्ड निर्माण गर्ने गरिए पनि वर्षायाममा बाढी आएर बगाउने गरेको छ । ब्रह्मपुरी गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा ६ लाख ५० हजार रुपियाँ खर्चिएर निर्माण गरेको कल्भर्ट गत असोजको वर्षापछि आएको बाढीले बगाएको थियो । 

असोजको बाढीले बगाएको कल्भर्ट खोलाको बिचभागमा अलपत्र रहेको छ । हरिपूर्वा नगरपालिका क्षेत्रका स्थानीय सदरमुकाम मलङ्गवातर्फ जान तथा ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिका स्थानीयले हरिपूर्वातर्फ आउजाउ गर्न सफा खोलाको बाटो प्रयोग गर्ने गरेका छन् । 

मोटरसाइकलमा राखेर स्थानीय हाटबजारमा तरकारी बिक्री गर्ने चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका किसान लालबाबु महतोले सफा खोलामा पुल नहुँदा सास्ती खेप्नु परेको गुनासो गर्नुभयो । बाढी आउने याममा बाटो नै अवरुद्ध हुने र अहिले हिउँदयाममा समेत पानीमा डुुबेर खोला वारपार गर्नुपरेको महतोले बताउनुुभयो । 

हरिपूर्वा बजारमा तरकारी बिक्री गर्न लैजाँदै गर्दा भेटिएका महतोले गत असोजमा खोलाको बिचमै मोटरसाइकल डुुब्दा मुस्किलले ज्यान बचाएको सुुनाउनुुभयो । “खोलामा जहिल्यै पानी आइरहने भएकाले जबरजस्ती मोटरसाइकल वारपार गराउनुपर्ने बाध्यता छ” महतोले भन्नुुभयो,“कहिलेकाँही मोटरसाइकलले तान्न सकेन भने बिचमै स्टार्ट बन्द हुन्छ, त्यो बेला असाध्य समस्या पर्छ ।” 

जिल्लाको दक्षिण–पूर्वी भेगका स्थानीयले पूर्व–पश्चिम हुलाकी राजमार्गपछि सबैभन्दा धेरै सफा खोलाको बाटो प्रयोग गरेर सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्ने गर्छन् । ब्रह्मपुरी गाउँपालिका–६, पिपराका स्थानीय रामकैलाश रायले पुल नहुँदा वर्षायाममा सफा खोलाको बाटो हप्तौँसम्म बन्द हुनेगरेको बताउनुुभयो । 

खोलामा पुल नहुँदा सर्लाहीका आधा दर्जन बढी गाउँ र महोत्तरीका स्थानीयले सास्ती खेप्नु परेको उहाँको भनाइ छ । “बसन्तपुर, हरिपूर्वासहित महोत्तरीको विभिन्न गाउँ र ब्रह्मपुरी तथा चन्द्रनगर क्षेत्रका स्थानीयलाई खोलामा पुल नहुँदा समस्या परिरहेको छ, रायले भन्नुुभयो, “स्थायी हिसाबले पक्की पुल निर्माण भइदिए सहज हुुन्थ्यो ।”  

वर्षायाममा बाढी आएर बारम्बार ह्युमपाइप र कल्भर्ट बगाएर हैरान पारेपछि ब्रह्मपुरी गाउँपालिकाले अब भने सफा खोलामा पक्की पुल नै निर्माणका लागि पहल थालेको छ । ब्रह्मपुरी गाउँपालिका–६, पिपराका वडाध्यक्ष हिरेन्द्रकुमार यादवले पुल निर्माणका लागि सङ्घ तथा प्रदेश सरकारमा पहल गरिरहेको जानकारी दिनुुभयो । 

गाउँपालिकाले पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकिएको जनाएको छ । ह्यूमपाइप र कल्भर्टमा  बर्सेनी बजेट खर्च गर्नुको साटो अब पक्की पुल बनाउने निष्कर्षमा पुुगिएको वडाध्यक्ष यादवले बताउनुुभयो ।