• ८ वैशाख २०८२, सोमबार

तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

बुटवल, फागुन ३ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीयताको मूल भावना अनुसार सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताउनुभएको छ ।

शनिबार बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले सङ्घीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरू मिलेर अहिले सरकार बनेको बताउनुभयो ।

‘‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसदका दुई ठुला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’’ उहाँले भन्नुभयो, ‘‘सङ्घीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ । राजनीतिक स्थीरता र आर्थीक समृद्धिका लागि सरकार लागेको छ ।’’


त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्ने बताउनुभयो । बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताउनुभयो । आर्थिक गतिविधि मात्र होइन बुद्धजन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाइ थियो ।  उपप्रधानमन्त्री सिंहले क्राइटएरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले लौह पुरूष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल पुगेको सन्दर्भ चर्चा गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले बुटवलको विकासका लागि सहरी विकास मन्त्रालयमार्फत गर्न सकिने काम भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताउनुभयो ।